देशभरको निषेधाज्ञा खुकुलो होला ?

  • Published Date : 2021-06-07
  • nepaltale.com

काठमाडौं। सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न विषयमा आन्तरिक छलफल थालेको छ । गृह मन्त्रालय विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर नया रणनीति तय गर्ने कार्यमा जुटेको हो ।

अत्यावश्यक भनी तोकिएका र जिल्ला प्रशासनको अनुमतिबाहेकका सबै वस्तु तथा सेवा निषेधाज्ञाका कारण ठप्प छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले खेतीपाती, विकास निर्माण तथा दैनिक उपभोग्य वस्तुको किनबेचमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नागरिकलाई आवागमन सहज हुने गरी निषेधाज्ञा खुकुलो बताउने रणनीतिमा छलफल भइरहेको जानकारी दिए ।



वैशाख १६ पछि सञ्चालनमा रोक लगाइएको राजधानीभित्रका वर्कसप शुक्रबारदेखि राति ९ देखि बिहान ९ बजेसम्म सञ्चालन गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले अनुमति दिइसकेका छन् । एक साता बन्द गरिएकामा काठमाडौंका खाद्यपसल शुक्रबार बिहान ९ बजेसम्म खुला हुने निर्देशन जारी भइसकेको छ

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि निषेधाज्ञा कसरी खुकुलो बनाउँदै लैजाने भन्ने विषयमा छलफल भइरहेको बताए ।

काठमाडौं प्रशासनले आइतबार जिल्लास्थित सुरक्षा निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय टेकु अस्पताललगायत क्षेत्रका प्रतिनिधिसँग निषेधाज्ञा खुकुलो बनाउनेबारे छलफल र समीक्षा गरेको थियो ।