पूर्वमाओवादी मन्त्रीहरुले राजीनामा दिनसक्ने !

  • प्रकाशित मिति : २०७७ बैशाख १७, बुधबार
  • nepaltale.com

आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउनेगरि तयारी भैरहेपछि केपी शर्मा ओलीले पनि संसदीय दलमा बहुमत पुर्याउनेगरि आफूनिकट सांसदहरुको हस्ताक्षर संकलन अभियान चलाएका छन् ।

यो अभियानमा उनीनिकट सांसदहरु महेश बस्नेत, विजय सुब्बा, किसान श्रेष्ठ र नवराज सिलवाल सक्रिय भएर लागेका छन् । आज साँझ बस्ने सचिवालय बैठकअघि नै ओलीको पक्षमा बहुमत पुर्याएर देखाउने उनीहरुको तयारी छ । बालुवाटारले दाबी गरेअनुसार ओलीको पक्षमा यो समाचार तयार पार्दासम्म ६२ जना सांसदले हस्ताक्षर गरिसकेका छन् ।

तर, यसअघि प्रधानमन्त्री ओलीको पक्षमा उभिने भनेर चर्चामा आएको पूर्व माओवादी केन्द्र खेमाका मन्त्री लेखराज भट्टले हस्ताक्षर अभियानमा सहभागी नहुने बताउन थालेको स्रोतको दाबी छ ।

आफू पार्टी एकताको पक्षमा रहेको अहिले हस्ताक्षर अभियान चलाउन नहुने उनको भनाई छ । तर, यदि हस्ताक्षर अभियान नै चलाएर एकता भाँड्ने प्रयास भए आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिने उनले आफूनिकट नेताहरुसँग बताउन थालेका छन् । भट्टले आजमात्रै अध्यक्ष दाहालसँग खुमलटारमा पुगेर भेटवार्ता गरेको स्रोतको दाबी छ ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली पक्षधर सांसदहरुको भेला भएको र ओलीको पक्षमा प्रचण्डनिकट सांसदहरुले समेत हस्ताक्षर गर्ने समाचार बाहिर आएपछि पूर्व माओवादी केन्द्र खेमाका सांसदहरु ओलीको कदमलाई लिएर सशंकित बनेका छन् । सचिवालय बैठकमा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलले समेत प्रचण्डलाई आज भेटेका थिए ।

उनले आफूले अन्तिम अवस्थामा दाहाललाई नै साथ दिने स्पष्ट संकेत दिएका छन् । बालुवाटारले हस्ताक्षर अभियान सुरु गरेर पार्टी एकतामाथि खलल पुर्याउने खोजे पूर्वमाओवादी केन्द्रका ६ जनै मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, बिना मगर, रामेश्वर राय यादव, वर्षमान पुन र शक्ति बहादुर बस्नेतले राजीनामा दिनेसम्मको तयारी गरेको स्रोतको दाबी छ ।

प्रचण्डनिकट उच्च स्रोतको दाबीअनुसार पूर्व माओवादी केन्द्र खेमाका कुनैपनि सांसद प्रधानमन्त्री ओलीको पक्षमा नउभिने र वारपारको अवस्था आए अध्यक्ष दाहाललाई नै साथ दिने उनीहरुको भित्री तयारी छ ।

त्यतिमात्रै नभएर, ओली हटाउनेबारे आजको सचिवालय बैठकमा अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाले संयुक्त प्रस्ताव लगे नेता नेपालनिकट मन्त्रीहरु घनश्याम भुषाल र यागेश भट्टराईले पनि पदबाट राजीनामा दिने र ओलीविरुद्ध उभिने मनशाय बनाएका छन् । -रिपोर्टर्स नेपाल