विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

  • प्रकाशित मिति : २०७७ बैशाख १८, बिहीबार
  • nepaltale.com

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उहाँले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताउनुभएको हो।

उहाँले भन्नुभयो, हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ ।

महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिनुभएको हो । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ। यस बीचमा कोविडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन ।

गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो। त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए ।

यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ।