काठमाडौं। मनसुनी वायुको प्रभावले शनिबार संघीय राजधानी काठमाडौंलगायत मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ।
शुक्रबार साँझदेखि नै काठमाडौंलगायत मुलुकका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो।
वर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ। त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन्। विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो।
त्यसैगरी, काठमाडौंको बागमती, विष्णुमति नदीको पानीको सतह बढेको छ। धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ। काठमाडौंका विभिन्न नदी र खोलाहरुको पानी बाहिरीने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन्।