बडा दशैं सुरुः आज घटस्थापना (जमरा राख्ने दिन)

घटस्थापनाको साइत बिहान ११ः४६ बजे

  • प्रकाशित मिति : २०७८ आश्विन २१, बिहीबार
  • नेपाल टेल

काठमाडौं। नेपालीहरुको महान आजबाट बडादशैं शुरु भएको छ। आज दशैंको पहिलो दिन घर-घरमा घटस्थापना गरिँदै छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ।



घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ। नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ।

जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ। पहेंलो जमरालाई समृद्धको प्रतीक पनि मानिन्छ।

कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निणरयक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी बिसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निणरयक समितिले जनाएको छ। टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ।