२१ वर्षपछि साझा स्वास्थ्य सेवाको औषधि पसल प्रतिष्ठानद्वारा बन्द

  • प्रकाशित मिति : २०७७ बैशाख ७, आईतवार
  • nepaltale.com

दाङ । जिल्ला सदरमुकामस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको साझा स्वास्थ्य सेवा २२ वर्षपछि बन्द भएको छ । चैत मसान्तको दिन प्रतिष्ठानले परिसर प्रवेशद्वारमा सेनिटाइजर मेसिन राख्ने भन्दै साझा औषधि पसलमा जाने बाटो नै बन्द गरिदिएपछि करीव १ सातादेखि साझा औषधि पसलको सेवा लिनबाट आम सर्वसाधारण वञ्चित रहेका छन् ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमणले सिङ्गो विश्व नै आक्रान्त भएको र मुलुक नै लकडाउनको अवस्थामा रहेको मौका छोपेर सस्तो र सुलभ दरमा चौबीसै घण्टा अन्यत्र नपाइने औषधिसमेत सर्वसाधारण जनतालाई बिक्रीवितरण गर्दै आएको साझा औषधि पसललाई प्रतिष्ठानले बन्द गरिदिएपछि सर्वसाधारण जनता मर्कामा त परेका छन् नै स्वयम् साझा स्वास्थ्य सेवा नै बिलखबन्दमा परेको छ ।

स्वास्थ्य सेवाको दृष्टिले यस क्षेत्रकै कोशेढुङ्गाको रुपमा हेरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालदेखि नै विवाद, संशय र आशङ्काको घेरामा पर्दै आएको छ । प्रतिष्ठानले गति लिन नसक्दा र पटकपटक विवादमा फस्दै गएपछि आमजनताको आशामा तुषारापात त भएकै छ, लकडाउनको समयमा अत्यावश्यक औषधि पसलसमेत बन्द गरिएपछि प्रतिष्ठान पुनः विवादको घेरामा तानिएको छ । कोरोना संक्रमणमा मुलुक नै लकडाउनको घोषणा भएको संकटकालीन अवस्थामा औषधिजस्तो अत्यावश्यक सेवा बन्द गरिएपछि सर्वसाधारण मर्कामा त परेका छन् नै, उनीहरु चिन्तित पनि छन् । यद्यपि, समाजको एउटा खास तहमा स्वार्थप्रेरित र स्वार्थकेन्द्रित दन्तबझान र मत विभाजन भने सामाजिक सञ्जालमा स्पष्टै देख्न सकिन्छ ।

साझा स्वास्थ्य सेवाको शाखा प्रमुख बेलबहादुर पौडेलले चैत मसान्तको दिन प्रतिष्ठानले प्रवेशद्वारमा सेनिटाइजर मेसिन राखेपछि बैशाख १ गतेदेखि साझा औषधि पसलको सेवा पूर्णरुपमा बन्द रहेको बताउनुभयो । अन्य औषधि पसलहरुमा मुनाफाको प्रतिशत धेरै भएका औषधिहरु पाइने तर साझामा सबै किसिमका औषधिहरु पाइने भएकाले त्यसको असर आम सर्वसाधारणमा केही समयमै स्पष्टै देखिने प्रमुख पौडेलले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, ‘प्रतिष्ठानसँग सम्झौताको म्याद सकिएको छ तर बारम्बार सम्झौताको प्रयास गर्दा पनि प्रतिष्ठानले वास्तै गरेन । अहिले आएर सेनिटाइजर मेसिन राख्ने बहानामा औषधि बिक्री गर्नै नबन्ने गरी औषधि पसल बन्द गर्न वाध्य पारियो ।’ प्रतिष्ठान प्रशासनले अवरोध गरेका कारण सर्वसाधारण जनतालाई सेवा दिन सक्ने अवस्था नभएकोले उक्त सेवा पूर्ववत् अवस्थामा सुचारु गर्नका लागि सहजीकरण गरिदिन सरोकारवाला सबै पक्षसँग साझा स्वास्थ्य सेवाले आग्रह पनि गरेको छ ।

के हो साझा स्वास्थ्य सेवा ?
साझा स्वास्थ्य सेवा २०२१ सालमा स्थापना भएको हो । राष्ट्रका जनसाधारणको स्वास्थ्यप्रति सचेत रही औषधिको क्षेत्रमा सेवा पु¥याउने उद्देश्य रहेको साझा स्वास्थ्य सेवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगतको राष्ट्रिय सहकारी विकास बोर्डबाट प्रबद्र्धित रहेको छ । कूल पूँजीको करीव ६५ प्रतिशत शेयर सरकारकै रहेको साझा स्वास्थ्य सेवाले केही वर्ष अघिसम्म नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरगतका सरकारी अस्पतालहरु, जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी र जिल्ला पशुसेवा कार्यालय समेतको वार्षिक आवश्यकताका औषधि तथा उपकरणहरु आपूर्ति समेत गर्दै आएको थियो ।

हाल संस्थाले सर्वसाधारण विरामीहरुको सुविधाका लागि मुलुकका सातवटै प्रदेशमा ३० वटा बिक्रीकक्षहरु प्रायः सरकारी अस्पताल परिसरभित्र खोलेर सबैभन्दा ठूलो राष्ट्रिय सञ्जाल विस्तार गरेको छ । यसले शुपथ मूल्यमा चौबीसैं घण्टा गुणस्तरयृुक्त औषधि तथा उपकरण बिक्री वितरण गर्दै आइरहेको साझा स्वास्थ्य सेवाका अध्यक्ष गिरधारीलाल न्यौपानेले बताउनु भयो । अध्यक्ष न्यौपानेका अनुसार साझा स्वास्थ्य सेवा नेपाल सरकारको अधिकांश लगानी रहेको, औषधि बिक्रीवितरणको क्षेत्रमा क्रियाशील एकमात्र स्वास्थ्य सहकारी संस्था हो । यस संस्थामा कुल ९ जनाको सञ्चालक रहने र यसमध्ये अध्यक्षसहित ४ जना साधारण शेयर सदस्यहरुबाट निर्वाचित हुने एवं विभिन्न मन्त्रालयहरुबाट ४ जना (सहसचिवस्तर) सञ्चालकहरु र नेपाल सरकारबाट मनोनीत १ जना सञ्चालक रहने व्यवस्था (सहकारी नियमावली, २०७५ को दफा ७७ मा उल्लेख छ ।) यस संस्थाले पूर्वमा विराटनगर–धनकुटादेखि पश्चिमको महेन्द्रनगर–डडेल्धुरासम्म नेपाल सरकारका विभिन्न हेल्थपोष्ट, अस्पताल लगायत औषधि आपूर्ति गर्ने तथा आफ्नो औषधि बिक्रीकक्षहरुमार्फत निर्बाधरुपमा सोझै विरामी÷उपभोक्ताहरुलाई २४ सैं घण्टा सेवा पु¥याउँदै आइरहेको छ ।

दाङमा कहिले आयो साझा स्वास्थ्य सेवा ?
आजभन्दा करीब २१ वर्षअघि सर्वसुृलभरुपमा जनतालाई औषधि उपलब्ध गराउनको लागि स्थानीय जनता तथा तत्कालीन महेन्द्र अस्पतालको अनुरोधमा २०५५ मंसिर ७ गते साझा स्वास्थ्य सेवा दाङमा स्थापना भएको हो । तत्कालीन महेन्द्र अस्पतालसँगको सम्झौताअनुसार अस्पताल परिसरमा अस्पतालकै भवनमा साझा स्वास्थ्य सेवाले औषधि बिक्रीकक्ष सञ्चालन गर्दै आएको हो ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालको २०७३ पुस १८ गतेको निर्णयबमोजिम साझा स्वास्थ्य सेवाको औषधि बिक्रीकक्ष अस्पताल परिसरभित्र रहँदा अस्पताललाई पनि सहयोग हुने उद्देश्यले अस्पतालको मुलगेटभित्र साझा स्वास्थ्य सेवाको आफ्नै लगानीमा भवन निर्माण गर्न लगाइएको थियो । उक्त भवनमा संस्थाको बिक्रीकक्ष सञ्चालन हुँदै आइरहेको र त्यसवापत साझा स्वास्थ्य सेवाले नियमित भाडा उपलब्ध गराउँदै आइरहेको शाखा प्रमुख पौडेल बताउँछन् ।

देखिने विवाद यहाँनेर
अदृश्य स्वार्थहरु बाझिएका धेरै पाटोहरु होलान् तर दृश्यमा भने साझा स्वास्थ्य सेवाको सेवा बन्द हुनुको कारण हो– सेनिटाइजर मेसिन । कोरोना भाइरस संक्रमणले मुलुक नै लकडाउन भएको अवस्थामा सुरक्षा आवश्यकतालाई मध्यनजर गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेनिटाइजर मेसिन राख्न थाल्यो । साझा स्वास्थ्य सेवाका प्रमुख पौडेलका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७६ चैत २८ गते सेनिटाजिङ मेसिन राख्न सहयोग गरिदिन भन्दै साझा स्वास्थ्य सेवालाई पत्राचार गर्यो । उक्त पत्रको जवाफमा साझा स्वास्थ्य सेवाले २०७६ चैत ३० गते पत्र लेख्दै बिक्रीकक्षको उत्तरतर्फको दुईवटै झ्याल अवरोध नहुने गरी सेनिटाजिङ मेसिन जडान गर्न अनुरोध गर्यो । प्रमुख पौडेल भन्नुहुन्छ, ‘तर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले साझा स्वास्थ्य सेवा घोराही बिक्रीकक्षको उत्तरतर्फका दुईवटै झ्याल पूर्णरुपले अवरोध हुनेगरी सेनिटाजिङ मेसिन राखिदियो । पूर्वपट्टिको झ्यालबाट आंशिक सेवा दिइरहेकोमा त्यहाँ पनि अस्पताल प्रशासनले अवरोध गरेकाले सर्वसाधारण जनतालाई सेवा दिन नसक्ने अवस्था आइलागेको हो ।’ उहाँ थप्नुहुन्छ, ‘काम सेनिटाइजर मेसिन राख्ने भए पनि नियत चाहिँ साझा स्वास्थ्य सेवाको औषधि बिक्रीकक्ष हटाउने देखियो ।’

किन तानिए विवादमा नेकपा दाङ इन्चार्ज र प्रमुख जिल्ला अधिकारी ?
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज जीवन गौतम र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल विवादमा तानिनु भएको छ । गौतम उनै पात्र हुनुहुन्छ जसले अहोरात्र खटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राप्ती उपक्षेत्रीय अस्पताल हस्तान्तरण गर्न नहुने पक्षमा हुनुहुन्थ्यो, गौतम । उहाँको यस्तो मत भए तापनि अन्ततः प्रतिष्ठानलाई अस्पताल हस्तान्तरण गरिएको थियो । प्रतिष्ठानको नेतृत्व सम्हाल्न आउनुभएकी उपकुलपति संगीता भण्डारीको कार्यशैली, व्यवहार र कामको ढिलासुस्तीप्रति आफू सहमत नभएको गौतमले सार्वजनिकरुपमै बताउँदै आउनुभएको थियो ।

पछिल्लो चरणमा लकडाउनको समयमा औषधि पसलजस्तो अत्यावश्यक सेवा ठप्प हुनेगरी प्रतिष्ठानले सेनिटाइजिङ मेसिन राखेपछि जुनसुकै हालतमा पनि साझा स्वास्थ्य सेवा सुचारु हुनुपर्ने उहाँको मत छ । ‘साझा र प्रतिष्ठानबीच आआफ्ना तर्क, अडान र असमझदारीहरु होलान् तर सरकारले नै जो जुन हालतमा छ, त्यस्तै अवस्थामा रहने घोषणा गरेको संकटकालीन लकडाउनको अवस्थामा औषधिजस्तो संवेदनशील र आमजनताको स्वास्थ्यसँग गाँसिएको कुरालाई बन्द गर्नु गलत हो । जनताको जिउधनमाथि खेलवाड हो’, गौतमको भनाई छ । त्यसै कारणले आफूले सरोकारवाला मन्त्री र निकायहरुलाई लकडाउनको अवस्थामा साझा औषधि पसल सुचारु गर्न पहल गरेको स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बजारमा नपाइने औषधिहरु समेत साझामा पाइन्छ । जनताको जीवनमाथि खेलवाड गर्न पाइन्न । त्यही भएर मैले साझालाई सुचारु गर्नका लागि प्रयास गरेकै हो ।’

नेकपा दाङका इञ्चार्ज जीवन गौतमलाई त शुरुदेखि नै विवादमा तानिएकै थियो । पछिल्लो चरणमा प्रमुख जिल्ला अधिकारी गोविन्द गौतमलाई पनि त्यसैमा मिसाइएको छ । प्रतिष्ठानका एक कर्मचारीले ‘सिडिओ र नेकपाका जिल्ला इन्चार्जको रिपोर्टिङपछि स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण किट दिन मानेन, अस्पताल बन्द भनेर गलत रिपोर्टिङ’ भनेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रमुख जिल्ला अधिकारी रिजालले गलत भ्रम नफैलाउन भन्दै टिप्पणी गर्नुभएको थियो । सोही कमेण्टमै उपकुलपति भण्डारी पनि भिड्न आएपछि दुईबीच त्यहीं भनाभन र घोंचपेच चलेको थियो ।

प्रतिष्ठानले देखाएको व्यवहार गैरजिम्मेवार ” नागरिक समाज
नागरिक समाज दाङले प्रतिष्ठानले देखाएको यस्तो व्यवहारलाई गैरजिम्मेवार भनेको छ । समाजका अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षतामा बसेको अनलाइन बैठकपछि सचिव लक्ष्मी आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन तथा स्वास्थ्य संकटको यस घडीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरभित्र रहेको साझा स्वास्थ्य सेवा बन्द छ । साझा स्वास्थ्य सेवा बन्द हुँदा नियमित औषधि सेवन गर्नुपर्ने यस भेगका धेरै विरामी प्रत्यक्ष प्रभावित बनेका छन् । बैकल्पिक ठाउँ हुँदाहुँदै साझाको झ्याल, ढोका थुनिने गरी स्यानीटाइजिङ टनेल राखेर यतिबेला प्रतिष्ठानले देखाएको व्यवहार गैरजिम्मेवार छ । साझा र प्रतिष्ठानबीच जेजस्तो समस्या भए पनि यो संकटका बेला सबैखालका विमति स्थगित गरेर तत्काल साझा स्वास्थ्य सेवा सञ्चालन हुने वातावरण बनाउन प्रतिष्ठान उपकुलपतिलाई नागरिक समाज आग्रह गर्दछ ।’

नागरिक समाज दाङले कोरोना परीक्षण गर्ने पिसिआर मसिन धेरै जिल्लामा जडान भई सञ्चालनमा आइसक्दा दाङमा अझै यो मसिन जडान हुन नसकेको बताउँदै दाङमा पिसिआर मसिन, परीक्षण किट, पिपिईलगायतका स्वास्थ्यसामग्रीका सम्बन्धका सबैखालका आरोप प्रत्यारोप बन्द गर्न र संकटको समयमा इगो छाडेर कामलाई तीब्रता दिन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । त्यस्तै समाजले कोरोना संक्रमितहरुको उपचारको तयारी गरिरहँदा स्वास्थ्य संस्थाहरुमा त्यस बाहेकका अन्य विरामी, नियमित औषधि सेवन गर्नुपर्ने विरामी, नियमित डायलासिस गर्नुपर्ने विरामी तथा गर्भवती सुत्केरीहरुले पाउनुपर्ने सेवा प्रभावित बनेकोतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । यस्ता त्रुटि सच्याउन र कोरोना संक्रमणको संवेदनशीलताप्रति सजग बन्दै नियमित स्वास्थ्य सेवा अवरुद्ध नहुने वातावरण बनाउन पनि नागरिक समाजले आग्रह गरेको छ ।

बोल्यो राष्ट्रिय जनमोर्चा
साझा स्वास्थ्य सेवा बन्द गरिएको विषयमा राष्ट्रिय जनमोर्चा दाङले मुख खोलेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको साझा स्वास्थ्य सस्थालाई बन्द गरिएको छ । जसले गर्दा बिरामीले सहजरुपमा औषधि पाउन सकेका छैनन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना ल्याब स्थापना हुने कुराको चर्चा भएतापनि अहिलेसम्म हुनसकेको छैन । त्यसैले तत्काल ल्याब सञ्चालन गरी कोरोना परीक्षणलाई तीब्रता दिन र साझालाई सुचारु गराउन सम्बन्धित सरोकारवालासित अनुरोध गर्दछौं ।’ अध्यक्ष आचार्यको विज्ञप्तिमा यो विषम परिस्थितिमा आन्तरिक द्वन्द्व सिर्जना गर्ने भन्दा पनि आपसमा भएका अन्तर्विरोधहरुलाई पनि थाँती राखेर जनताको जीवन रक्षा यतिबेलाको मुख्य कुरा भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यसमा कसैका राजनीतिक आग्रह पूर्वाग्रहहरु छन् भने पनि यो बेलामा जनताको स्वास्थ्य र जीवनरक्षा मात्र मुख्य मुद्दा बनाउन सबैमा अनुरोध गर्न चाहन्छौं ।’