नेपालले जित्यो विश्वकप छनोटको ट्रफी

  • प्रकाशित मिति : २०८२ आश्विन ३१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीेले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटको ट्रफी जितेको छ ।

शुक्रबार भएको आफ्नो अन्तिम खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले हराउँदै ट्रफी जितेको हो ।



अल इमिरेट्स मैदानमा नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८७ रन बनायो ।

सामोआका लागि सेन सोलियाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान काबेल जस्मतले ९ रन बनाउँदा बेन्जामिन मिल्टाले ११ रनको योगदान गरे ।

नेपालका लागि ललित नारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै करण केसी, कप्तान रोहित कुमार पौडेल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।

नेपालका लागि आसिफले ४१ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै दीपेन्द्रले ३३ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनकको अर्धशतकीय आअरी खेले ।

नेपालका लोकेश बमले ३९ रन बनाउदा कप्तान रोहित कुमार पौडेलले २१ रनको योगदान गरे । सामोआका लागि डेनियल बुर्ग्स, सामुनी ताइ, दारिस भिसुर्स र नोह मेडले एक एक विकेट लिए ।