बालुवाटार बैठक : दलहरू निर्वाचनमा जाने सङ्केत, सरकारमाथि सुरक्षाको प्रश्न

चुनावका लागि खोजे पूर्ण शान्ति सुरक्षाको प्रत्याभूति

  • प्रकाशित मिति : २०८२ कार्तिक ५, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलका नेताहरूबिचको छलफल सकिएको छ । मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ५ घण्टा भएको छलफलमा दलहरूबिच निर्वाचन र शान्ति सुरक्षाका सन्दर्भमा छलफल भएको हो ।

त्यसक्रममा दलका नेताहरूले अहिलेकै अवस्थामा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने भन्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्ने भन्दै पूर्ण शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म चुनावको वातावरण बन्न नसक्ने बताएका छन् ।



नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सबै नेताहरूले शान्ति सुरक्षाको प्रत्याभूति नभएको र सुरक्षा निकायको पनि मनोबल खस्किएको भन्दै सरकारले शान्ति सुरक्षा मजबुत बनाउनुपर्ने र सरकारका अभिव्यक्तिले नै चुनावबारे विश्वस्त बन्न सक्ने अवस्था नरहेको बताएको जानकारी दिए ।

महतले कांग्रेस निर्वाचनमा जान तयार रहेको तर सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेको तथा २४ गतेको घटनामा संलग्नलाई कारबाही गर्न सरकारले चासो नदेखाएको बताएको बताए ।

‘छलफलमा गृह मन्त्रीले पनि बोल्नुभयो तर सुरक्षा दिन सक्छौ भनेर आत्मविश्वास दिलाउन सक्नुभएन बरु कठिनाइका कुरा गर्नुभयो’, महतको भनाइ छ ।

उनले गृहमन्त्रीले जेनजीको आफ्नै किसिमको दबाब छ, तपाईँहरूको आफ्नै कुरा छ भनेर गुनासो गरेको बताए ।

राप्रपाका नेता राजेन्द्र गुरुङले अहिलेको समय संविधान र व्यवस्थाको चिन्ता भन्दा पनि देश जोगाउनुपर्ने कुरा राखेको बताए । उनले निर्वाचनका लागिमात्र निर्वाचन नभएर मुलुकलाई निकास दिने गरी निर्वाचन हुने वातावरण बनाउनुपर्ने धारणा राखेको बताए ।

छलफलमा नेकपा एमाले नेताहरूले यहीँ अवस्थामा निर्वाचन हुनसक्छ र ? भन्दै सरकारको जवाफ माग गरेका थिए ।

प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध रहेको बताएकी छन् । यसका निमित्त अहोरात्र खटिएर मन्त्रीहरू र सुरक्षा निकायलगायत सिंगो सरकार काम गरिरहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भएकाले दलहरूसँगको संवादमा ढिलाइ भएका बताएकी छन् ।

उनले सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै नरुचाएको भन्दै राष्ट्रपतिबाट संवादको ढोका खोलिदिने काम भएको स्मरण गराएकी छन् ।

‘अब जेनजी र दलहरू बसौँ । जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ’, प्रधानमन्त्री कार्कीले छलफलमा भनिन्, ‘चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ । यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग छलफल गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहेका थिए । फागुन २१ मा निर्वाचन सम्पन्न गर्नका लागि सरकारले प्राथमिकता,जेनजीसँगको संवाद र सुशासनका लागि सरकारले गर्दै आएका गतिविधिमाथि छलफल केन्द्रीत रहेको सहभागी नेताहरूले बताएका छन् ।

त्यसक्रममा राजनीतिक दलका नेताहरूले निर्वाचनका लागि शान्ति सुरक्षाको विषयलाई प्रमुख हुने भन्दै सरकारले त्यसमा ध्यान दिन नसकेको विषय बैठकमा उठाएका छन् । बैठकमा सहभागी दलका नेताहरूले आफ्नो आफ्नो दलको तर्फबाट निर्वाचनका सम्बन्धमा पार्टीको औपचारिक धारणा राखेका छन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले दलका नेताहरू सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राखेको बताए ।

उनले भने, ‘सवैबाट चासोहरू व्यक्त भएका छन् । मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ । प्रधानमन्त्रीज्यूले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको छ।’

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सरकार र दलहरूबिचको छलफल सकारात्मक रहेको भन्दै सबै दलले निर्वाचनमा भाग लिने कुरा गरेको तथा सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र सरकार उत्साहित भएको समेत बताए । उनले सुरक्षाको वातावरण बनाउन सरकार, जेनजी र दलहरूले समेत सघाउने विश्वास बढेको बताए ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी थिए ।

त्यसैगरी दलहरूका तर्फबाट नेपाली कांग्रेसबाट गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शङ्कर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालालगायत सहभागी थिए ।