शनिबार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवाल बैठकले उपध्याक्ष वामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट उम्मेद्वार बनाउने निर्णय प्रमुख रूपमा अगाडि देखिएको छ । तर उक्त क्षेत्रका निर्वाचित प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले गौतमलाई आफ्नो क्षेत्रबाट उम्मेदवार बनाउने कुरा झुठो र भ्रामक भएको बताएका छन् ।
पार्टीको निर्णय सार्वजनिक भएपछि प्रतिनिधिसभा सदस्य रानाले राति १२ बजेर ४ मिनेटमा फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा झूठो, भ्रमपूर्ण र पार्टीको एकता विरोधी षड्यन्त्रबाट प्रेरित भएको बताएका हुन् ।
‘केही समयदेखि पार्टीभित्र देखापरेको आन्तरिक विवादलाई सचिवालयको बैठकमा नेताहरुले आत्मालोचना गर्ने, २५ गते स्थायी समितिको बैठक बस्ने, तीनजना अध्यक्ष राख्ने विषय अघि नबढाउने र कमरेड बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाएर प्रतिनिधि सभामा लैजान पहल गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु गरेर समाधान निकाल्न सफल भएको कुरा पार्टी प्रवक्ता कमरेडबाट जानकारी पाउँदा सम्पूर्ण नेता कार्यकर्ता, मतदाता र शुभचिन्तकहरु अत्यन्त खुसी भएका छौं । तर बैठकमा र सम्बन्धित कसैसँग पनि छलफल र चर्चा नै नभएको विषय ‘बामदेव गौतमलाई पाल्पा क्षेत्र नं १ बाट चुनाव लडाउने सहमति भएको’ भन्ने समाचार झूठो, भ्रम पूर्ण र पार्टीको एकता विरोधी षड्यन्त्रबाट प्रेरित भएको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन् ।
लामो समयदेखि गौतमको नजिकका सांसद राना पूर्व भूमिसुधार मन्त्री हुन् । अघिल्लो महाधिवेशमा सांसद राना नेता गौतमसँगै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहमा जोडिएका थिए । रानालाई सांसदबाट राजीनामा गराउने कुरा हुदै गर्दा उनका समर्थकले बामदेवलाई तत्काल सांसद र प्रधानमन्त्री बन्न मन लागे सबैभन्दा उपयुक्त झापा–५ हुने सुझाव दिँदै पाल्पा नआए पनि हुने बताएका छन् । यो क्षेत्र वर्तमान प्रधानमन्त्रीको उम्मेद्वार क्षेत्र हो ।