कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन गरेको छ । सोमबार बसेको समितिको बैठकमा लकडाउनको मोडलबारे छलफल भएपनि कस्तो मोडलमा लकडाउन अवधि थप गर्ने भन्नेबारे निर्णय भने भएन ।
बैठकको निर्देशन अनुसार मंगलबार फेरि बस्ने समितिको बैठकमा गृह, अर्थ र स्वास्थ्य मन्त्रालयले लकडाउनको खाका पेश गर्नेछन् । समितिमा आउने खाकाहरुमा छलफल पश्चात समितिले मंगलबारै लकडाउन कति समय लम्ब्याउने भन्नेबारे मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।
संक्रमणको जोखिम हेरेर केही ठाउँमा लकडाउन खुकुलो बनाईने भएपनि काठमाडौंमा भने तत्काल नखुलाईने भएको छ । ठाउँको अवस्था हेरी ग्रीन, रेड र एल्लो जोन गरी क्षेत्र निर्धारण गरिने छ । काठमाडौं ग्रीन जोनमा परे पनि लकडाउन नखुलाउने विषयमा आजको समिति बैठकमा छलफल भएको बताईएको छ ।
सरकारले पछिल्लो समय थप गरेको लकडाउन अवधि बैशाख २५ सम्म कायम छ ।