भारतीय दूतावास अगाडि विरोध प्रदर्शन, ३३ विद्यार्थी पक्राउ

  • प्रकाशित मिति : २०७७ बैशाख २७, शनिबार
  • nepaltale.com

नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले यसरी प्रदर्शन गरेका जनाइएको छ।

सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत ३३ जना पक्राउ परेका हुन्।

नेपालको भूगोलमा रहेको लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गर्नुभएको जनाइएको छ।

यसबारे रराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष माग गरिएको बताउनुभएको थियो।