प्रतिभा नक्षत्रमा भाग लिन लन्डन आइपुगे पत्रकार यात्री

  • प्रकाशित मिति : २०८० भाद्र ६, बुधबार
  • nepaltale.com

लन्डन। यही सप्ताहन्त लन्डनमा हुन लागेको चौंथो प्रतिभा नक्षत्रका लागि चर्चित टेलिभिजन पत्रकार टिकाराम यात्री बेलायत आएका छन्।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पत्रकार यात्री र किताब जात्राका निर्देशक ऋषिराम अधिकारी सोमबार लन्डन उत्रिएका हुन्।

प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खस र सञ्चारकर्मी कुशल श्रेष्ठले हिथ्रो विमानस्थल पुगेर उनीहरुलाई स्वागत गरेका थिए।

टेलिभिजन अन्तरवार्ता लिने फरक शैली र प्रस्तुतिका कारण रुचाइएका पत्रकार हुन् यात्री। एपीवान टेलिभिजनमा प्रधानसम्पादकको जिम्मेवारी सम्हालिसकेका उनी अहिले भने ‘यात्री मिडिया’मार्फत् युट्युब पत्रकारितामा सक्रिय छन्।

कार्यक्रमका लागि नेपालबाट अन्य केही मिडियाकर्मी र कलाकर्मी पनि विहिबारसम्म लन्डन आइपुग्ने आयोजकले जनाएका छन्।

यही अगस्ट २६ शनिबार बिहान ११ देखि बेलुका ८ बजेसम्म प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा कार्यक्रम तय छ ।