काठमाडौं- यस वर्षको दशैं टीकाको शुभसाइत नेपालमा बिहान ११ः०२ बजे परेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको उत्तम साइत सार्वजनिक गरेको हो।
मंगलबार विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ।
देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ।
कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व समाप्त हुनेछ।
यता, बेलायतमा भने टीकाको शुभसाइत बिहान ९:४५ मा जुरेको छ।
पशुपतिनाथ मन्दिर लन्डनका पन्डित ज्योतिषी निलहरि घिमिरेले सूर्योदयका आधारमा साइत निश्चित हुने भएकाले नेपाल र बेलायतमा फरक समय जुरेको स्पष्ट पारे।
विजयादशमीको टीका ग्रहण गर्ने पूर्वतर्फ र लगाइदिने पश्चिमतर्फ फर्किन उत्तम मानिने घिमिरेले जानकारी दिए।