उपत्यकाभित्र पनि एकबाट अर्को जिल्ला जान नपाइने, गृहले रद्द गरिदियो सबै पास

  • प्रकाशित मिति : २०७७ जेष्ठ १, बिहीबार
  • nepaltale.com

गृह मन्त्रालयले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको छ।

जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो।

गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज गरिदिएको बताए। सबैखाले पास खारेज गरिएकोले अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान पनि नमिल्ने उनले बताए।

एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सक/नर्स/फर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादन/ढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ।