नेपालको नक्सा नै छैन संविधानमा, सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा

  • प्रकाशित मिति : २०७७ जेष्ठ २, शुक्रबार
  • nepaltale.com

नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ । त्यसमाथि नेपालकै नक्सा राखिएको छैन । ९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ । त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ। सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको छ ।

२०६४ को संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोज ३ मा संविधान जारी गरिएको थियो । दुई वर्षमा संविधान बनाउने वाचा गरेका राजनीतिक दलले आठ वर्षमा संविधान त बनाए तर त्यहाँ नेपालको नक्सा राख्न बिर्सिए ।

नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ मुलुकको मुल कानुन बनाउँदा राष्ट्रियता, सर्वोभौमसत्तासँग जोडिएको विषयमा जनप्रतिनिधि गम्भीर नहुनु ठूलो गल्ती भएको बताउँछन् । ‘देशको मूल कानुन बनाउँदा जनप्रतिनिधि राष्ट्रियता, सर्वोभौमसत्ता, स्वाधीनताप्रति जिम्मेवार भएको देखिएन’, उनी भन्छन्, ‘यो गम्भीर गल्ती हो ।’ संविधान संशोधन गरी उक्त गल्ती तत्काल सुधार्नु विकल्प नरहेको उनको ठम्याइ छ ।
-अन्नपूर्ण पोस्ट् दैनिक