बेलायतमा नेपाली युवकमाथि लालबहादुरको जालसाजी, वर्क परमिटको ४२ लाख लिएर पारे बिचल्ली

  • प्रकाशित मिति : २०८१ बैशाख ११, मंगलवार
  • nepaltale.com

लण्डन । ४२ लाख रूपैयाँ लिई वर्क परमिट भिसामा बेलायत ल्याएर एक नेपालीले नै अर्का एक नेपाली युवाको बिचल्ली बनाएका छन् । लण्डन प्लमस्टिडका लालबहादुर बरालीले नेपालमा रहेको आफ्नो बैंक खातामा ४२ लाख रूपैयाँ हाल्न लगाएर बुटवलका अनिल श्रेष्ठलाई बेलायत ल्याएका थिए । तर, बरालीले भनेको कम्पनी नै नक्कली रहेको बताइएको छ ।

अहिले काम र पैसा दुबै नदिई बराली गायब भएको पीडितले बताएका छन् । अहिले बरालीले अनिलको नम्बर नै ब्लक गरिदिएका छन् । बरालीले आफू जस्ता झण्डै दर्जन नेपाली नेपालबाट ल्याएको बताइएको छ ।

ज्याक एण्ड जाम कंग्लोमेरेट लि. ले गत फेब्रुअरी २९ तारिख २०२४ मा अनिललाई इमेल पठाएर पहिले भनेअनुसार रोजगारी दिन नसकिने बताएको छ । बेलायतको अध्यागमन नियमअनुसार स्पोन्सर गरेको कम्पनीले कामदार नलिए ६० दिनभित्र अर्को कम्पनी खोजेर वर्क परमिट ट्रान्सफर गर्नुपर्छ नत्र नेपाल नै फर्कनुपर्छ ।

बरालीले सुरूमा केयर होममा जाने भए जम्मा ४२ लाख नेपाली रूपैयाँ लाग्ने र शत्‌प्रतिशत काम पक्का हुने आश्वासन दिएर पेस्कीस्वरूप ३० लाख नेपाली रूपैयाँ जम्मा गर्न लगाए । अनिलले बरालीको ग्लोबल बैंकमा रहेको खाता नम्बर १३६०७०१००२८४७७ मा मिति २०८० असोज ३० गते बरालीले भनेअनुसार नै पैसा जम्मा गरिदिए ।

हेर्नुस् केही जम्मा भौचर

३० लाख रूपैयाँ लिएको डेढ महिनापछि बरालीले केयर होममा प्रोसेस ढिला हुने भयो अब क्लिनिङ कम्पनीबाट छिटो गरौं भनेको अनिल सुनाउँछन् । बेलायत जान लाखौं खर्च गर्न तयार भएका अनिलले इग्ल्याण्डको मेडस्टोन चाताममा रहेको कम्पनी ज्याक एण्ड जाम कंग्लोमेरेट लि. मार्फत भिसा दिइएको थियो । बेलायत आएपछि मात्र आफूले त्यो कम्पनी फेक रहेको कुरा थाहा भएको उनको भनाइ छ ।

‘कम्पनीको अफिस पनि भेटिएन र दलाल पनि गायब भए । अहिले एनआरएनए यूकेको सहयोगमा कानूनी उपचार खोज्ने निष्कर्षमा पुगेको छु । शनिबार नेशनल क्राइम एजेन्सी र प्लमस्टिड प्रहरी कार्यालयमा उजुरी दिइसकेँ’, अनिलले भने ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बरालीलाई प्रत्यक्ष भेटेर मुद्दा मामिलाको सट्टा समाधानको उपाय खोज्नुस् भन्दा उल्टै उनले अब जे गर्दा हुन्छ गर्नुस् भन्दै गैरजिम्मेवार जवाफ दिएको बताए ।

‘मैले मार्च र अप्रिलमा बेग्ला बेग्लै पत्र पठाइ एक-एक हप्ताभित्र तपाईंहरु मिलेर समाधान गर्नु भन्ने सुझाव पनि दिएको थिएँ । नयाँ वर्षको दिन प्लमस्टिड बिस्का जात्रामा प्रत्यक्ष भेटेर मुद्दा मामिलाभन्दा सकेसम्म दुवै पक्ष मिल्नु भनेर सम्झाउँदा बराली म आफ्नै तरिकाले अगाडि बढ्छु भनेर गैरजिम्मेवार देखिए’, गाहामगरले भने, ‘पीडितलाई सहयोग गर्नु मेरो संस्थागत कर्तव्य पनि हो ।’

पीडित अनिलको बिलौना जस्ताको तस्तैः

म अनिल श्रेष्ठ वर्ष २७, फोन नम्बर +४४७८२४१५७१८४ । म वैदेशिक रोजगारका निमित्त भौंतारिरहेका बेला मिति २०८० आश्विन महिनामा अनिशा मल्ल ठकुरी (फोन नं. ०७५०३५०३२६१) संग भेट भयो । उहांसंग मेरो साधारण चिनजान थियो, उहांले मसंग एकजना दाई हुनुहुन्छ उहांले यूके कामदार भिसामा लानु हुन्छ भन्नुभयो । यूके प्लमस्टिड १८० मार्माडोन रोड लन्डन एसइ १८, १ इक्यू, स्थायी बसोवास गर्दै आएका लालबहादुर बरालीसंग मेरो चिनजान गराइदिनु भएको हो । बराली र मेरो कुरा भए अनुसार उहांले केयर होममा जम्मा ४२ लाख नेपाली रुपैयाँ लाग्ने बताउंदै काम १०० प्रतिशत पक्का हुने प्रण गर्नुभयो र उहांले पेस्की स्वरुप जम्मा ३० लाख नेपाली रुपैयाँ जम्मा गर्न लगाउनुभयो । मैले उहांको ग्लोवल बैंकमा रहेको खाता नम्बर १३६०७०१००२८४७७ मा मिति २०८०–०६–३० गते बरालीले भने अनुसार पैसा जम्मा गरिदिएं ।

३० लाख रुपैयां लिएको डेढ महिनापछि केयर होममा वर्क परमिट लिन गारहो हुन्छ क्लिनिङ कम्पनीमा काम गर्नु भन्यो । मैले नहुनु भन्दा त्यो पनि ठिकै छ हुन्छ अप्लाइ गर्दिनु भनें ।

मैले नेपालमा इन्सुरेन्स् र बायोमेट्रिक अपोइन्टमेन्टवापत ७ लाख ६० हजार थप तिरें।

त्यसको करिब २ महिना पश्चात मेडस्टोन चाताममा रहेको कम्पनी ज्याक एण्ड जाम कंग्लोमेरेट लि. बाट मेरो भिसा लगाइदिने र काम त्यही कम्पनीमा विजनेश सपोर्ट म्यानेजरका रुपमा हुने पक्का छ भन्नुभयो ।

बांकी पैसा पुनः जम्मा गरिदिनु भन्नु भयो र मैले विश्वासमा सबै पैसा जम्मा गरिदिएं । सबै कागजपत्र ज्याक एण्ड जामबाट पठाइदिनु भयो र अंग्रेजी वर्ष २०२४ फेब्रुअरी १ तारिख यूकेको गेट्वीक विमानस्थलमा अवतरण भएं ।

मेरो कस लेटर (सिओएस) पत्रमा फेब्रुअरी ५ बाट काम उल्लेख भएकाले कम्पनी खोज्दै जांदा त्यो कम्पनी नै रहेनछ । अस्टिन भन्ने कम्पनीको नाइजेरियन डाइरेक्टर रहेछ । इमेल र कम्पनीको गतिविधि सामाजिक सञ्जालमा क्रियाशील देखिन्छ तर मान्छे कोही कहीं भेटिंदैन । शुरुमा त इन्डक्सन हुन्छ भनिएको थियो त्यो पनि भएन । इमेलमा मात्र कुरा गर्ने गर्थे । म संगै अरु दुई जना नेपाली पनि हुनुहुन्थ्यो तर उहांहरु सम्पर्कमा हुनुहुन्न ।

अहिले आएर ज्याक एण्ड जाम कम्पनीले हामी पहिलाको शर्त अनुसार काम दिन सक्ने अवस्थामा छैनौं ६० दिनभित्र अर्को स्पोन्सर खोज्नु भनेर इमेल आएको छ ।

यो खबरले म विक्षिप्त बनें । त्यो खबर मैले लाल बहादुर बरालीलाई पटक पटक जानकारी गराउंदा उहां आफ्नो जिम्मेवारीबाट पन्छिनु भयो । म तिम्रो एजेन्ट होइन, मेरो खातामात्र प्रयोग गरिएको हो भन्दै पन्छिनुभयो । मेरा हरेक बिलौनाहरुलाई ख्याल नगरि धम्कीपूर्ण रुपमा तं जे गर्न सक्छस् गर् भन्न थाल्नुभयो ।

उहांको नियत शुरु देखि नै गलत रहेछ । वाट्सअपमा म्यासेज गर्दा पनि हेर्ने बित्तिकै हराउने मोड (डिसापियरिङ) मा राखेर म्यासेज गर्नु हुन्थ्यो । दुई महिना भयो अहिले सम्पर्क नगरि मेरो नम्बर नै ब्लक गर्नु भएको छ ।

मैले यहां आएपछि बुझ्दै जांदा लाल बहादुर बराली एकदमै फ्रड तथा स्क्यामर हुनुहुंदोरहेछ । उहांले म लगायत धेरै नेपालीहरुलाई यस्तो झुटो फर्जी कागज बनाएर दुःख दिएको पाएं । म त ठगिएं ठगिएं तर उहांको वास्तविक चरित्र थाहा पाए पछि अरु नेपाली दाजुभाई, दिदी बहिनी नठगिउन् भनेर म सार्वजनिक रुपमा मिडियामा आएको छु, कानूनी उपचार खोज्ने निष्कर्षमा पुगेको छु ।

मेरो यूकेमा आफ्नो भन्ने कोही थिएन । खान बस्न समेत समस्या हुन थालेपछि म एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर सामु सहयोगका लागि हारगुहार गर्न पुगें ।

मेरो अरु कुनै उपाय नभएपछि मैले एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरज्यूसंग सहजीकरण गरिदिनु भनि निवेदन दिएं । तर, बरालीले अध्यक्ष गाहामगरज्यूलाई मात्र नभएर तमाम एनआरएनए यूके जस्तो संस्थालाई नै वास्ता नगरेको मैले पाएं ।

पुनश्चः म न्यायका लागि यूके नेशनल क्राइम एजेन्सी, प्लमस्टिड पुलिस स्टेसन क्राइम सेक्सन, स्थानीय सांसदसम्म गएर आफूलाई न्याय माग्ने निर्णय गरि न्याय पाउने ठूलो आशाका साथ अगाडि बढेको जानकारी गराउंदछु ।

बेलायतमा वर्क परमिटको प्रलोभनमा हामी जस्ता युवालाई लाखौं तिराएर गायव हुने जमात ठूलो पो रहेछ । कृपया लालबहादुर जस्ता शोषकदेखि तपाईंहरु सबै होसियार रहनुहोला भन्ने निवेदन गर्दछु ।

नेपालबाट आउने बेला सचेत हुनुहोस् भन्ने मेरो सुझाव छ ।

अन्त्यमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरको सहयोगप्रति धेरै आभार व्यक्त गर्दछु ।

अनिल श्रेष्ठ, बुटबल
हाल मेडस्टोन केन्ट, यूके
-nepalpress.com