बेलायती प्रधानमन्त्रीबाट १० डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधन

  • प्रकाशित मिति : २०८१ जेष्ठ ११, शुक्रबार
  • nepaltale.com

बेलायती प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिटस्थित आफ्नो सरकारी कार्यालयमा नेपाली समुदायलाई सम्बोधन गरेका छन् ।

नेपाल र बेलायतबीच सन् १९२३ मा मैत्री सन्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा सोमबार साँझ आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुनकले नेपाल र बेलायतबीच ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध रहंदै आएको बताए ।

द्विपक्षीय सम्बन्धको प्रमुख कडीका रुपमा ब्रिटिश गोर्खाहरुको योगदानको चर्चा गर्दै उनले गोर्खा सैनिकहरुको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा गरे ।

बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमण स्मरण गर्दै प्रधानमन्त्री सुनकले दुई देशबीचको मैत्री सम्बन्ध विशेष रहेको उल्लेख गरे ।

उनले बेलायतस्थित नेपाली डायस्पोराको काम र उपलब्धिहरुबाट आफू प्रेरित भएको पनि बताए ।

बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने प्रधानमन्त्री सुनकले जनाए ।