बेलायतमा गत सातादेखि चर्किएको आप्रवासी विरोधी दंगाले उग्र रूप लिँदै

  • प्रकाशित मिति : २०८१ श्रावण २४, बिहीबार
  • nepaltale.com

बेलायतमा गत सातादेखि चर्किएको आप्रवासी विरोधी दंगाले उग्र रूप लिँदै गएको छ । विगत एक सातादेखि ब्रिटिस सहरहरूमा आगो दन्किरहेको छ । आज बुधबारमात्र ३० भन्दा बढी ठाउँमा प्रदर्शन तयारी भइरहेको बेलायती अखबारहरूले जनाएका छन् ।

नेपालीहरूको उल्लेख्य बसोबास र व्यवसाय रहेको अल्डरसट सहरमा आज बुधबार प्रदर्शन हुने बताइएपछि नेपाली समुदाय समेत त्रसित छ । स्थानीय ग्रेटर रसमोर नेपलिज कम्युनिटीका अध्यक्ष मन गुरुङले नेपाली समुदायमा त्रास बढाएको जनाए । ‘नेपालीहरूले आज आफ्ना पसल बन्द गर्ने मनस्थिति बनाएको सूचना आएको छ,’ गुरुङले भने, ‘हामीले इन्टरनल सर्कुलेसन गरेर सबैलाई सचेत रहन अपिल गरेका छौं ।’

हिंसाका कारण जातीय अल्पसंख्यक र आप्रवासी समुदायहरू थप भयभीत बन्दै गएका छन्। जातीय सद्भाव बिथोलिएको छ ।गत साता उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा एक १७ वर्षीय युवाले छुरा प्रहार गरेर तीन बालिकाको हत्या गरेपछि हिंसा फैलिएको थियो ।

एउटा दुर्लभ र स्तब्ध पार्ने उक्त घट्नापछि अति दक्षिणपन्थीहरूले गलत सूचना फैलाए । प्रहरीले हत्या गर्ने संदिग्ध युवा बेलायतमा जन्मिएको जनाएपनि ऊ शरणार्थी र मुस्लिम भएको हल्ला फैलाइयो । त्यसपछि आप्रवासी र मुस्लिम विरोधी प्रदर्शनहरु हिंसामा परिणत भयो ।

लन्डन, लिभरपुल, सन्डरल्यान्ड, हल, ब्रिस्टोल, बेलफास्ट, साउथपोर्ट, रोदरम योर्कसायर, लिड्स, बोल्टन, मिडल्सब्रालगायत सहरमा हिंसा बढेको छ । अति दक्षिणपन्थी समूहहरूले आप्रवासी र मुस्लिमहरूलाई निसाना बनाइरहेका छन् । प्रहरी र मानिसका निजी सवारी साधन जलाउने, मस्जिदहरू तोडफोड गर्ने र पसल लुटपाट भइरहेको छ ।

बेलायतमा दंगा जारी रहँदा आन्दोलनकारीहरुले गत आइतबार शरणार्थीहरू बसेका दुई होटलमा आगो लगाइदिए । उत्तरी इंग्ल्यान्डको ट्यामवर्थमा रहेको होलिडे इन एक्सप्रेस र रोदरमस्थित होलिडे इन एक्सप्रेस होटल आगजनी गरिएको हो । रोदरम घट्नामा ५१ प्रहरी अधिकृत घाइते भएका जनाइएको छ ।

यूके क्राउन प्रोसिक्यूसन सर्भिसले मंगलबार अभियोजकहरूले हिंसात्मक दंगामा करिब १०० जनालाई अभियोग लगाएको जनाएको छ । चार सयभन्दा बढीलाई गिरफ्तार गरिएको छ ।

एक दशकयताकै सबैभन्दा उग्र ठानिएको दंगा नियन्त्रण गर्न लेबर सरकार प्रयत्नरत छ । सरकारले हिंसात्मक घट्नालाई ‘एकदमै घृणायोग्य’ बताउँदै सबैभन्दा कडा कदम चाल्न प्रहरीलाई साथ रहेको बताएको छ ।

दुईदिनमा दुई पटक भएको आपतकालिन कोब्रा बैठकपछि प्रधानमन्त्री केयर स्टार्मरले मंगलबार साँझ समुदायहरू ‘सुरक्षित रहने’ वाचा गरेका छन् । उनले हिंसामा सहभागी हुनेहरूले ‘कानूनको पूर्ण शक्ति महसुस गर्ने’ पनि बताएका छन् । प्रधानमन्त्रीले प्रत्यक्ष र अनलाइनमार्फत हिंसा भड्काउनेहरु पनि कानुनी दायरामा आउने बताए ।

कोब्रा बैठकमा मन्त्रीहरू, निजामती कर्मचारी, प्रहरी, गुप्तचर अधिकारीहरूलगायत सरोकारवाला सम्मिलित हुने गर्छन् । आगामी दिनमा हुने कुनै पनि अराजकता नियन्त्रण गर्न करिब ६ हजार जनशक्ति परिचालन गरिने प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।अति दक्षिणपन्थी दंगा बढिरहँदा सरकारले विभिन्न जेलहरुमा ५०० भन्दा बढी मानिसलाई थुनामा राख्न मिल्ने गरी व्यवस्था मिलाइएको न्यायमन्त्री हेइडी अलेक्ज्यान्डरले जनाएकी छन् । अराजकता मच्चाउनेहरु जेलमा पुगिहाल्ने अलेक्ज्याण्डरको चेतावनी छ । गत आइतबार टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री स्टार्मरले हिंसामा संलग्न भएकाहरूले ‘पछुताउनु पर्ने’ बताएका थिए।

‘हामीले मुस्लिम समुदायलाई निशाना बनाएको, मस्जिदहरूमा हमला गरिएको देखेका छौँ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘अन्य अल्पसङ्ख्यक समुदायलाई पनि निशानामा पार्ने, प्रहरीमाथि हमला, नस्लवादी अभिव्यक्तिसहितका जथाभावी हिंसात्मक गतिविधि भएका छन् जुन उग्र दक्षिणपन्थी अराजकता हो ।’

बेलायतमा पछिल्लो केही दिनदेखि भइरहेको हुलदंगा र प्रदर्शन क्षेत्रमा नजान लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।दूतावासले मंगलबार एक अपिल जारी गर्दै बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।

दूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ । त्यस्तै, बेलायतस्थित नेपाली संघसंगठनहरूलाई समेत आफ्नो संस्था–समुदायमार्फत नेपाली नागरिकहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न दूतावासले आह्वान गरेको छ ।

बेलायतमा विकसित वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको दूतावासको भनाइ छ । कार्यवाहक राजदूत रोशन खनालले परिस्थिति आत्तिहाल्नु पर्ने खालको नरहेपनि सतर्कता अपनाउन अपिल गरिएको प्रस्ट्याइन् । ‘नेपाली समुदाय पीडित भएको भन्ने खबर अहिलेसम्म छैन्’, खनालले कान्तिपुरसँग भनिन्, ‘बेलायतले यहाँ बस्ने हरेक नागरिकको सुरक्षाको प्रत्याभूति गरेको छ । यद्यपि, सचेत रहन हामी अपिल गर्दछौं ।’

दुई बेग्लाबेग्लै एनआरएनए यूकेका अध्यक्षहरु क्रमशः प्रेम गाहामगर र हितकाजी गुरुङले पनि एक विज्ञप्ति जारी गर्दै सुरक्षा सतर्कता अपनाउन अपिल गरेका छन् । अहिले बेलायतमा भइरहेको दंगा अत्यन्तै दुःखदायी र यस घटनाले समाजमा ठूलो असर पुरयाएको साहित्यकार डा. संगीता श्रेष्ठ बताउँछिन् ।

‘सरकारले दंगा नियन्त्रण गर्न सुरक्षा बल बढाएको छ । कानुनी कदम र प्रभावित क्षेत्रहरुमा तुरुन्तै राहत र पुन:स्थापना कार्यक्रम सुरु गरेकाले यस कठिन समयमा सबैले धैर्य र समझदारी देखाउन जरुरी छ’, श्रेष्ठले भनिन्, ‘आशा छ चाँडै नै शान्ति पुनः स्थापना हुनेछ र समाज पुनः सामान्य अवस्थामा फर्कनेछ ।’