सरकारले कम्तिमा एक साता लकडाउन लम्व्याउने भएको छ । त्यसबारे आइतबार बेलुुका बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समयसीमा जेठ ५ गते सकिदैछ । तर, नेपालमा कोरोेना संक्रमितको सङ्ख्या समेत बढ्दै गएकाले लकडाउनको समय थप्दै अझ कडाइका साथ लागु गर्नुपर्नेमा सरकारी अधिकारीहरु पुगेको श्रोतको दावी छ ।
त्यसका लागि छलफल गर्न आइतबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए । बैठकमा कोरोना नियन्त्रणमा सरकारले अपनाएको सबै विषयका बारेमा विश्लेषण गर्दै थप रणनीति तय गरेर निर्णय हुनसक्ने मन्त्री भट्टराईको भनाइ छ ।
उनका अनुसार लकडाउनको विकल्पमा अरु उपायको समेत खोजी गरिने भएपनि तत्काललाई यसैलाई निरन्तरता दिनुको विकल्पमा सरकार जान सक्ने अवस्था रहेको छैन । मन्त्रिपरिषद बैठकअघि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको पनि बस्दैछ । समितिको बैठक दिउँसो साढे २ बजे बस्ने समितिका प्रवक्ता तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।