लन्डन । हालै नेपालमा भएको जेनजी आन्दोलन र सरकारको दमन, त्यससँगै भएको हिंसा र अराजकतालाई लिएर बेलायतमा कार्यरत नेपाली मनोरोग विशेषज्ञहरूको समूहले नेपाली समाजमा मानसिक स्वास्थ्य संकट गहिरिन सक्ने चेतावनी दिदै विशेष अपिल जारी गरेका छन्।
नेपालका युवा र बालबालिकाहरु यस्तो मानसिक समस्याको उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता जोखिमबाट बच्न र समस्याको समयमै न्यूनीकरण गर्न सरकार र सरोकारवाला निकायलाई सचेत पनि गराएका छन्।
अपिलमा भनिएको छ, “यस्तो जटिल परिस्थितिले सबै उमेर समूहलाई असर गरे पनि विशेषगरी आन्दोलनको अग्रपंक्तिमा रहेका युवाहरू र शारीरिक तथा मानसिक विकासको चरणमा रहेका बालबालिकामा नकारात्मक प्रभाव पर्ने उच्च जोखिम हुन्छ। यस्तो असर उमेर, पेशा वा पृष्ठभूमि फरक भए पनि नेपालभित्र वा विदेशमा रहेका सम्पूर्ण नेपाली समाजले अनुभव गर्ने कुरा हो।” विज्ञहरूले भनेका छन्।
उनीहरूका अनुसार, नकारात्मक भावनाहरू- उदासीनता, असहजता, झस्कोपन वा एक्लोपन व्यवस्थापन हुन नसकेमा चिन्ता (anxiety), उदासीपन (depression) र पोस्ट–ट्राउमाटिक स्ट्रेस डिसअर्डर (PTSD) जस्ता समस्या तीव्र बन्न सक्छन्। पहिले नै मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूको अवस्था अझ जटिल बन्न सक्ने खतरा पनि छ।
विशेषज्ञहरूले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगजनी, तोडफोड, अराजक घटनाहरू तथा सामाजिक सञ्जालमा फैलिएका धम्की र अफवाहका कारण मानसिक दबाबमा परेका सर्वसाधारणप्रति सहानुभूति प्रकट गरिएको छ।
आत्म-हेरचाहको आवश्यकता
अपिलमार्फत उनीहरूले आत्म–हेरचाहलाई अहिलेको समयमा अत्यन्तै आवश्यक रहेको बताएका छन्। यस क्रममा सामान्यतया सबैलाई उपयोगी हुने उपायहरूबारे पनि सन्देश दिइएको छ।
तनावपूर्ण समाचार वा सामाजिक सञ्जालमा फैलाइएका हिंसात्मक सामग्री तथा अफवाहबाट टाढा रहनु, गहिरो सास फेर्ने अभ्यास वा ध्यानजस्ता शारीरिक–मानसिक गतिविधि गर्नु, परिवार वा साथीहरूसँग आफ्ना भावना शेयर गर्नु, संगीत, पढाइ वा प्रकृतिसँग समय बिताउने जस्ता सकारात्मक क्रियाकलापमा संलग्न रहनु, पौष्टिक खाना खानु, पर्याप्त निद्रा लिनु र नियमित व्यायामलाई जीवनशैलीमा प्राथमिकता दिनु जस्ता कार्यहरु गर्न अपिलमा सुझाइएको छ।
विशेषज्ञहरूको भनाइमा, “यदि तनाव वा मानसिक पीडा अत्यधिक वा लामो समयसम्म निरन्तर भइरहेमा मानसिक स्वास्थ्य विशेषज्ञ, मनोचिकित्सक, मनोवैज्ञानिक वा परामर्शदाताको सहयोग लिनु अनिवार्य हुन्छ।”
साथै, आत्महत्या वा आत्मनोक्सान गर्ने विचारहरू उत्पन्न हुन थाले तत्काल आपतकालीन हेल्पलाइन वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
‘सहयोग माग्नु कमजोरी होइन’
अपिलमा मानसिक स्वास्थ्यबारे सहयोग माग्नु कुनै कमजोरी नभई जीवनलाई सहज बनाउन उठाइएको साहसी कदम भएको स्पष्ट पारिएको छ। उनीहरूले भनेका छन्, “शारीरिक स्वास्थ्यजत्तिकै मानसिक स्वास्थ्य पनि हाम्रो सामूहिक सहनशीलता र उज्ज्वल भविष्यका लागि अपरिहार्य छ।”
उनीहरूले नेपालमा देखा परिरहेको परिस्थितिबाट उदाएका आशंका र निराशाभन्दा बाहिर निस्कँदै साहस, करुणा र एकताको भावनासाथ अघि बढ्न सकिने विश्वास प्रकट गरेका छन्।
सरकारलाई प्राथमिकतामा राख्न आग्रह
विशेषज्ञहरूले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण मान्दै यसलाई सरकारको उच्च प्राथमिकतामा राख्न माग गरेका छन्। उनीहरूले भनेका छन्, “वर्तमान संकटले नेपाली समाजमा मानसिक स्वास्थ्यलाई अझ बढी संवेदनशील र गम्भीर विषय बनाएको छ, जसलाई नतिजामुखी नीति, कार्यक्रम र स्रोतमार्फत सम्बोधन गर्नु अपरिहार्य बनेको छ।”
अपिलमा आफ्नो र अरूको ख्याल राख्दै सबैले कठिन परिस्थितिलाई साहस, करुणा र एकतासाथ सामना गर्न आग्रह गर्दै वर्तमान परिस्थितिबाट उदाएका आशाका किरणहरूले नेपाल र नेपालीको भविष्य उज्यालो बनाओस् भन्ने शुभेच्छा पनि व्यक्त गरिएको छ।