वर्षमा एकपटक मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर आज महानवमीका दिन भक्तजनका लागि खुला गरिएको छ।
आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन खुल्ने परम्परा अनुसार यस वर्ष पनि बिहानैदेखि हजारौँ भक्तजन पूजाआजा र दर्शनका लागि लामबद्ध भएका छन्। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले भक्तजनलाई सहज रूपमा दर्शन गराउने तयारी पूरा भएको जानकारी दिएका छन्।
तलेजु भवानीलाई यसअघि फूलपातीको दिन सोमबार दरबार क्षेत्रको मूलचोकमा ल्याइएको थियो। परम्परा अनुसार तलेजुलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइनेछ।
महाअष्टमीको राति मूलचोकमै तान्त्रिक विधिबाट कालरात्रि पूजा गर्ने परम्परा रहिआएको छ। यस क्रममा ५४ बोका र ५४ राँगाको बलि दिइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पसहित गर्ने यो पूजा शताब्दीयौंदेखि निरन्तर हुँदै आएको विश्वास गरिन्छ।
महानवमीका अवसरमा राजधानीसहित देशभरका शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने, बलि दिने र दर्शन गर्ने धार्मिक परम्परा छ।