देशभर वर्षा बढेसँगै बाढी र पहिरोको जोखिम उच्च बनेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै भए पनि वर्षा बढ्दै जाँदा बाढी उर्लने सम्भावना छ।
यस्तै ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बाग्लुङ, मनाङ, गोरखा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया र आसपासका जिल्लामा ससाना नदीमा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, मकवानपुर, नवलपरासी पूर्व–पश्चिम, कास्की, तनहुँ, स्याङजा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला, कञ्चनपुर लगायतका जिल्लामा पनि केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम मध्यम देखिएको छ।
विभागले नदी किनार तथा भिरालो क्षेत्रमा विशेष सतर्कता अपनाउन स्थानीय प्रशासन, सरोकारवाला निकाय र जनतालाई आग्रह गरेको छ।