मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधानका लागि ७ सदस्यीय कार्यदल गठन

  • प्रकाशित मिति : २०८३ असार ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक क्षेत्र मुक्कुम्लुङ–पाथीभरा मन्दिरमा निर्माणाधीन केवलकारका विषयमा देखिएको विवाद समाधान गर्न सरकारले कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय बिहीबारको निर्णयअनुसार प्रधानमन्त्री बालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यदललाई १५ दिनभित्र सुझाव पेस गर्ने कार्यादेश दिइएको छ।



कार्यदलले केवलकार निर्माणसँग सम्बन्धित लामो समयदेखि उठ्दै आएका विवाद, स्थानीय सरोकार, धार्मिक–सांस्कृतिक पक्ष तथा विकास निर्माणबीचको समन्वयका विषय पहिचान गरी समाधानका उपाय सुझाव दिनेछ।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्रीको सचिवालयका स्वकीय सहसचिव सदस्य रहेका छन्।

सरकारले सबै सरोकारवाला पक्षलाई समेटेर संवादमार्फत समाधान खोज्ने उद्देश्यसहित कार्यदल गठन गरेको बताइएको छ। धार्मिक आस्था, स्थानीय हित र पूर्वाधार विकासबीच सन्तुलन कायम गर्ने विषय नै कार्यदलको प्रमुख चुनौतीका रूपमा रहनेछ।