पाँचथरको कुम्मायक–३ कात्तिकेमा आज भएको बलेरो दुर्घटनामा परी मृत्यु हुने चार जनाको सनाखत भएको छ । अन्य दुई जना मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
मे १ ज ३०५५ नम्बरको बलेरो तमोर करिडोरको कात्तिके खण्डमा शनिबार दिउँसो दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन ५ का धनकुमार लिम्बू, दिपेश केदेम, मनिषा कार्की र मेरिङदेन–४ की गीता हाङगामको सनाखत भएको छ ।
यस्तै घाइतेहरुमा मेरिङदेन–५ का धनकुमार लिम्बू, मिक्वाखोला–४ का २५ वर्षीया मनु साँवा लिम्बू, ताप्लेजुङ सिदिङवा–२ का ७ वर्षीय अनिस लिम्वू, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाई, मेरिङदेन ५ का २५ वर्षीय बिमल लिम्बू, ताप्लेजुङ मिक्वाखोला–४ का २९ वर्षीय सञ्जुहाङ लिम्बू रहेका छन् ।
बलेरो सडकदेखि ३ सय मिटर तल खसेको प्रहरीले पुष्टि गरेको छ । मृतक ६ जनाको शव पोस्टमार्टमका लागि पाँचथर अस्पताल पुर्याइएको छ भने घाइतेहरूको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सबै घाइतेहरूको कम्मर र टाउकोमा चोट लागेको जनाइएको छ । बलेरोमा चालकसहित १२ जना यात्रु सवार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।