विराटनगर । पहिरोका कारण इलाममा मृत्यु भएकाहरूको संख्या २१ पुगेको छ । गएराति झरेको पहिरोका कारण इलामका बिभिन्न स्थानमा गरेर २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै केही हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
इलाममा पहिरोका कारण फसेकाहरुका लागि उद्धारका लागि हेलिकप्टर आइपुगेको छ। माङ्सेबुङ्गमा पहिरोका कारण फसेकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । पहिरोका कारण मेची राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध भएका कारण घाइतेको उपचारमा समस्या भएको छ ।
उपचारमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि तैनाथ गरिएको हो। इलामको सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुंग लगायतका पालिकाहरुमा पहिरो खसेको छ । पहिरोका कारण दर्जानौ घर पुरेको प्रहरीले जनाएको छ ।