इनरुवा । सप्तकोशी नदीमा पानीको बढ्दो चापका कारण बाँध जोखिममा परेको छ ।
निरीक्षणमा गएका प्रदेशका आन्तरिक मामिला मन्त्री रेवती भण्डारीका अनुसार चतरातर्फबाट पानीको बहाव बढेको र पानी मापनमा चाप बढेका कारण बाँध जोखिममा रहेको हो।
यद्यपि,जोखिम न्यूनीकरण तथा सम्भावित क्षति नियन्त्रणका निम्ति नेपालतर्फको व्यवस्थित तयारी रहेको मन्त्री भण्डारीले बताए । भारततर्फबाट पनि उत्तिकै सगजता अपनाइएका कारण मानवीय तथा भौतिक क्षति नियन्त्रण काबुभित्रै रहने विश्वास उनले व्यक्त गरे । नेपालतर्फ बाँध फुटेमा कोशी गाउँपालिकाका बासिन्दा प्रभावित हुने स्थानीय राजनीतिकर्मी अजय कुसियैतले बताए । भारततर्फ बाँध भत्किए सुपौल, अररिया, भागलपुर, पूर्णिया, मधेपुरा र सहर्षा जिल्ला पूर्णतस् प्रभावित हुन्छन् ।
आइतबार बेलुकी ५ बजे पानी मापन गर्दा सप्तकोशीमा ५ लाख ३० हजार क्युसेक पानी थियो । ६ बजे मापन गर्दा ५ लाख ३० हजार ९५ क्युसेक पानीको चाप बढेको छ ।
२०६५ भदौमा कोशीको बाँध भत्किदा १ लाख ६३ हजार क्युसेक पानीको बहाव थियो । गत वर्ष करिव ८ लाख क्युसेक पानीको बहाव हुँदा मापन यन्त्रले नै काम गरेन । त्यत्तिका पानी हुँदा पनि गतवर्ष बाँध सुरक्षित थियो । यसपटक विभिन्न पहाडी जिल्लामा वर्षा निरन्तर रहेका कारण कोशी नदी जोखिमयुक्त भएको हो ।
जोखिम र क्षतिलाई दृष्टिगत गर्दै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना तयारी हालतमा रहेको मन्त्री भण्डारीले बताए । आज राति हुने वर्षाको क्रम अहिलेकै रफ्तारमा रहे भन्न नसकिने, अन्यथा बाँध सुरक्षित रहने उनले बताए ।