काठमाडौं । असोज १७ देखि परेको अविरल वर्षाले देशभर ठुलो मानवीय क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बेलुकी ५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार ४८ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् ।
मृतकमध्ये इलाममा मात्र ३७ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २, पाँचथरमा १, कञ्चनपुरमा १, खोटाङमा १, मोरङमा १, सुनसरीमा १ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।
यस्तै ५ जनालाई बाढीले बगाएको छ (स्याङ्जा–४, इलाम–१) भने इलाममा पहिरोले १ जनालाई पुरेको छ ।
यस्तै २८ जना घाइते भएका छन् । पहिरोमा इलामका १६, पाँचथरका २ र ललितपुरका २ जना घाइते छन् । त्यस्तै, चट्याङ लागेर भोजपुरमा ३, खोटाङमा ३, उदयपुरमा २, मकवानपुरमा २, ताप्लेजुङमा १, धनकुटामा २ र बारामा २ जना घाइते भएका छन् ।
विपद्का कारण इलामको माइक्रोट्युड गाउँपालिकामा पहिरोमा फसेकी एक गर्भवती महिला सहित २ जनाको उद्धार गरिएको छ । यस्तै, विभिन्न जिल्लामा बाढी र डुबानमा परेका १६ जनाको समेत हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
सरकारले देशभर उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरेको छ भने जोखिमयुक्त स्थानका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।