आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा देशका २० वटै वाणिज्य बैंकले संयुक्त रूपमा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले घटेको हो ।
गत आवको भदौ मसान्तसम्म बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यसपटक नाफा घट्नुको कारण कर्जा विस्तार सुस्त हुनु, गैरब्याज आम्दानीमा गिरावट आउनु र सञ्चालन खर्च बढ्नु रहेको विश्लेषण बैंकिङ विज्ञहरूले गरेका छन् ।
राष्ट्र बैंकका तथ्यांकअनुसार साउन-भदौ अवधिमा १० वटा बैंकको नाफा घटेको छ भने १० वटाको नाफा बढेको छ । नाफा घट्ने बैंकहरूमा प्रायः ठूला बैंकहरू रहेका छन्, जसले बजारमा ब्याजदरको दबाब र प्रतिस्पर्धी निक्षेप लागतको असर बेहोरेका छन् । विपरित, मध्यम आकारका केही बैंकहरूले दक्ष कर्जा व्यवस्थापन र लगानी सन्तुलनमार्फत नाफा वृद्धि गर्न सफल भएका छन् । यसले अहिलेको बैंकिङ बजारमा पुनःसन्तुलनको संकेत दिएको छ ।
नाफा रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.९७ प्रतिशतले बढी हो । स्थिर ब्याज मार्जिन र विवेकपूर्ण लगानी नीतिले ग्लोबल आइएमईलाई निरन्तर नाफा बढाउन सहयोग पुर्याएको देखिन्छ ।
दोस्रो स्थानमा रहेको नबिल बैंकले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ नाफा कमाए पनि यो रकम अघिल्लो वर्षको तुलनामा २०.०९ प्रतिशतले घटेको छ । ब्याजदर घट्दै जाँदा बैंकको ब्याज आम्दानीमा कमी आएको र सञ्चालन खर्च बढ्दा नाफा घटेको बताइन्छ ।
तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले दुई महिनामा १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ, तर यो गत वर्षको सोही अवधिको तुलनामा १०.५१ प्रतिशतले घटेको हो । मर्जरपछिको संस्थागत संरचना र सञ्चालन खर्चले बैंकको नाफामा केही दबाब पारेको देखिन्छ ।
चौथो स्थानमा रहेको कुमारी बैंकले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २.६० प्रतिशत घटेको हो । पाँचौँ स्थानमा रहेको प्राइम बैंकको नाफा पनि ७.३९ प्रतिशत घट्दै १ अर्ब ४ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकको प्रदर्शन भने उल्लेखनीय रह्यो । एनएमबि बैंकले ३२.१४ प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा कमायो । बैंकले लागत नियन्त्रण र लगानी सन्तुलनमा सुधार ल्याएर बजारमा बलियो सन्देश दिएको छ ।
त्यसैगरी लक्ष्मी सनराइज बैंकले १२.६६ प्रतिशतले नाफा बढाउँदै ९७ करोड ४१ लाख रुपैयाँ कमायो । एभरेष्ट बैंकले पनि १०.५७ प्रतिशत नाफा बढाएर ९१ करोड २८ लाख रुपैयाँ पुर्याएको छ । राष्ट्रिय वाणिज्य बैंकले हल्का वृद्धि गर्दै ८८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सिद्धार्थ बैंकले भने सबैभन्दा उच्च नाफा वृद्धि दर देखाएको छ, बैंकको नाफा ४०.१७ प्रतिशतले बढेर ८४ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
नेपाल बैंकले पनि सन्तोषजनक प्रदर्शन गरेको छ । बैंकले दुई महिनामा ८४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २४.२७ प्रतिशतले बढी हो । यसले सरकारी स्वामित्वका बैंकहरू पनि प्रतिस्पर्धात्मक रूपमा सुधारोन्मुख रहेको देखाएको छ । तर कृषि विकास बैंकको नाफा भने ३३.५० प्रतिशतले घट्दै ५८ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । यो बैंकमा कर्जा असुली सुस्त र ब्याज आम्दानीमा गिरावट देखिएको छ ।
हिमालयन बैंकको नाफा यस अवधिमा सबैभन्दा धेरै घटेको छ । बैंकको नाफा ६८.२६ प्रतिशतले घटेर ३७ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ । नेपाल एसबीआई बैंकको नाफा पनि ३३.५९ प्रतिशत घटेर ३५ करोड ४५ लाख रुपैयाँमा झरेको छ ।
प्रभु बैंकको नाफा २५.९७ प्रतिशत घट्दै ६७ करोड ६० लाख रुपैयाँमा पुगेको छ भने एनआइसी एशिया बैंकको नाफा १४.२६ प्रतिशत घटेर ४९ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १२.२१ प्रतिशतले घटेर ५३ करोड २२ लाख रुपैयाँमा पुगेको छ र सिटिजन्स बैंकको नाफा पनि ५.६० प्रतिशत घटेर सोही ५३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ ।
यी तथ्यांकले ठूला बैंकहरू हाल ब्याजदर स्थिर भए पनि मार्जिन घट्न थालेको, जसले नाफा दबाबमा परेको देखाउँछन् । ठूला बैंकहरूमा संस्थागत निक्षेपको अनुपात उच्च भएकाले तिनका लागि ब्याज लागत घटाउन कठिन हुन्छ । विपरीत, मध्यम आकारका बैंकहरूले खुद ब्याज मार्जिन बढाउँदै र सेवा शुल्क आम्दानी सन्तुलित राख्दै नाफा बढाउन सकेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको हिंसाले निजी क्षेत्रको मनोबल कमजोर बनाएको छ । जसकारण कर्जा असुलीमा समस्या पर्न सुरू भएको छ । यसले आगामी दिनमा बैंकहरूको नाफामा संकुचन आउने विज्ञहरू बताउँछन् ।