एप्पलले तोड्यो सबै रेकर्ड, बजार मूल्य ४० खर्ब डलर नजिक

  • प्रकाशित मिति : २०८२ कार्तिक ५, बुधबार
  • एजेन्सी

काठमाडौं। अमेरिकी दिग्गज प्रविधि कम्पनी एप्पलले सदैव चर्चा र प्रसिद्धिले भरिएको कम्पनी हो भन्नेमा द्धिविधा छैन । यसपटक चाहीँ एप्पलले पुनः अर्को सफलताबाट चर्चा कमाएको छ ।

पछिल्लो यो सफलता उसको ल्यापटप, फोन वा कुनै एउटा प्रडक्टलाई लिएर होइन, कम्पनीको शेयर मूल्यसँग सम्बन्धित छ ।



सोमबार कम्पनीको शेयर मूल्य अहिलेसम्मकै किर्तिमानी उच्च विन्दुमा पुग्यो । त्यससँगै कम्पनीको बजार पुँजीकरण अर्थात् मार्केट भ्यालूले करिब ४ ट्रिलियन अर्थात ४० खर्ब डलरको कोशेढुंगा चुमेको हो ।

एप्पलको स्टकमा आएको तिव्रताको एउटा ठूलो कारण चाहीँ आइफोन १७ सिरिजको जबरजस्त बिक्री हो ।

सोमबार एप्पलको शेयर मूल्यमा ४.२ प्रतिशतले वृद्धि भई प्रतिशेयर २६२.९ डलर पुगेको थियो । योसँगै एप्पलको कूल बजार पुँजीकरण ३.९ ट्रिलियन डलर नाघ्यो ।

साथै एप्पल विश्वको दोश्रो सर्वाधिक मूल्यवान कम्पनी पनि बन्यो ।

यदि एप्प्लको शेयरमा विद्यमान गतिमा वृद्धि भएमा यसले ४ ट्रिलियन डलरको बजार पुँजीकरण छिटै नै हासिल गर्ने पक्का छ ।

स्मरण रहोस् एप्पलले यहीँ अक्टोबर ३० मा आफ्नो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेवाला छ ।

काउन्टरप्वाइन्टका अनुसार आइफोन १७ सिरिजले यसभन्दा अघिल्ला सिरिजको तुलनामा बजारमा राम्रो प्रभाव पारेको छ र बिक्री उच्च देखिएको छ ।

सुरुवाती बिक्रीलाई हेर्दा यसपटक आइफोन १७ सिरिजले फ्लागशीप फोनको बजारमा राज गर्ने देखिन्छ।

हरेक वर्ष विश्व बजारमा सर्वाधिक बिक्री हुने स्मार्टफोनको सूचीमा एप्पलका फोन सबैभन्दा धेरै सामेल हुन्छन्।

कम्पनीले आइफोन १७ गत सेप्टेम्बरमा मात्रै लञ्च गरेको हो । यो सिरिजसँगै एप्पलले आफ्नो सबैभन्दा पातलो आइफोन एयर पनि लञ्च गरेको छ ।

कम्पनील्े आइफोन १७ सिरिजमा क्यामेरा, प्रोसेसर तथा डिस्प्लेलाई अपडेट गरेको छ । आइफोन १७ मा ६.३ इन्चको सुपर रेटिन एक्सडिआर ओएलइडी डिस्प्ले रहेको छ भने ए१९ प्रोसेसर रहेको छ ।