आज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आगामी ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै बुधबार बिहानसम्म विशेषगरी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

मौसम प्रणालीको प्रभावले आज रातीदेखि १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भाग एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।
सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जन-जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ ।
यतिबेला किसानहरुकाे धान काटेर भित्र्याउने बेला भएकाले महाशाखाले सचेत हुन आग्रह गरेकाे हाे ।