मुस्ताङमा भारी हिमपात, चराङ-लोमान्थाङ सडकमा सवारी अवरुद्ध

  • प्रकाशित मिति : २०८२ कार्तिक १२, बुधबार
  • नेपाल टेल संवाददाता

मुस्ताङमा आज बिहानैदेखि परेको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या देखिएको छ।

नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको करिब पाँच किलोमिटर सडकमा आठ इन्चसम्म हिउँ जम्दा आवागमन असहज भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए।



मंगलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्टका सुरक्षाकर्मीहरूले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छाएका थिए। कागबेनी–मुक्तिनाथ सडक भने अहिले खुलिसकेको छ।

भारी हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा सेताम्मे भएका छन् र स्थानीय जनजीवन प्रभावित भएको छ।