बञ्चरेडाँडा अवरोध हट्यो, फोहोर बोकेका गाडी जान थाले

  • प्रकाशित मिति : २०८२ कार्तिक १७, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि जारी अवरोध अन्ततः हटेको छ। सहरी विकासमन्त्री कुलमान घिसिङले स्थानीयका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो।

फोहोर लोड भएका गाडीहरू अब ल्यान्डफिल साइटतर्फ गइसकेका छन्। फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोली आइतबार बिहान बञ्चरेडाँडा पुगेको थियो। टोलीले फोहोर विसर्जन स्थलको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि र बासिन्दासँग संवाद गरेको थियो।



मन्त्री घिसिङले स्थानीयसँग विगतका सबै सहमति र सम्झौता १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै अवरोध हटाउन अनुरोध गरे। उनले भने, “विगतमा धेरै सहमति भएका रहेछन्, मैले सबै अध्ययन गरेको छु। अब आश्वासन होइन, कार्यान्वयन गर्छु। फोहोर व्यवस्थापनका लागि अवरोध नगरिदिनुहोस्। बल प्रयोग होइन, संवाद र सहमतिको बाटोबाट समस्या समाधान गर्छौं।”

उनका अनुसार, फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन दुवै योजना सहित अघि बढ्ने तयारी गरिएको छ। तत्काल गर्न सकिने काम सुरु गर्ने र नीतिगत निर्णयहरू छिट्टै गर्ने उनले बताए।