आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ मतपेटिका खरिद गर्नुपर्ने छैन। निर्वाचन आयोगका अनुसार, अघिल्ला निर्वाचनमा प्रयोग भएका मतपेटिका नै पुनः प्रयोग गर्न सकिने भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘मतपेटिका शतप्रतिशत अवस्थामा छन्, नयाँ खरिदको आवश्यकता छैन।’ उनका अनुसार अन्य आवश्यक सामग्रीहरूको खरिदसमेत समावेश भएको निर्वाचन खर्चको बजेट तयार गरी आयोगले अर्थ मन्त्रालयमा पठाइसकेको छ।
आयोगले पठाएको बजेट अनुसार आगामी निर्वाचनका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। तर, सो बजेट अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ।
अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि आयोगले आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ।