निकोलसलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

  • प्रकाशित मिति : २०८२ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सार्वजनिक शान्तिमा खलखल पार्ने कार्य गरेको आरोपमा पक्राउ परी हिरासतमा रहेका निकोलस भुसाललाई वीर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको छ ।

तीन दिनदेखि प्रहरी हिरासतमा आमरण अनसनमा बसेका उनको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको केही सामाजिक सञ्जाल अभियन्ताले फेसबुकमा लेखेपछि प्रहरीले भुसालको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको बताएको छ ।



प्रहरीले भुसाल अनसन बसेको कुरालाई खण्डन गरेको छ । ‘उहाँ अनसन बस्नुभएको हैन, हिजो एक छाक खाना खान मान्नुभएन । हाम्रो कस्टडीमा भएपछि स्वास्थ्यको ख्याल गर्नै पर्‍यो ।’ काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले भने, ‘आज शरीर अलिक कमजोर भएपछि उपचारका लागि वीर अस्पताल पठाइएको हो ।’

प्रहरीले भुसाललाई भर्ना हुने गरी नभएर उनको स्वास्थ्य परीक्षणका लागि पठाइएको जानकारी दिएको छ ।