नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनको क्रममा २३ गते भएको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन्।
सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलायो थाहा छैन’ भन्ने अभिव्यक्ति दिनु गलत रहेको टिप्पणी गरे।
‘धरहरा कसले बनायो भनेर सोध्दा तत्कालीन सरकारले नै बनायो भनिन्छ, तर गोली कसले चलायो भन्ने थाहा छैन भन्नु उचित होइन,’ पाण्डेले भने, ‘२३ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही गर्नुपर्छ।’
उनले २४ गतेको घटनालाई पनि अक्षम्य बताउँदै देशमा कानूनी शासन स्थापनाका लागि दुबै घटनाका जिम्मेवारहरूलाई उन्मुक्ति नदिइने वातावरण बनाउनुपर्ने बताए।
पाण्डेका अनुसार, नेकपा एमाले सरकारमा भएको कारण घटना घटेको भए पनि अब पार्टीले छानबिनमा सहयोग गरेर आफू दागमुक्त हुनुपर्ने आवश्यकता छ। अन्यथा माओवादी नेताजस्तै एमालेका कार्यकर्ताले पनि कहिले समातिन्छन् भन्ने त्रासमा बस्नुपर्ने उनले उल्लेख गरे।
जेन–जी आन्दोलन एमालेको कमजोरीकै उपज भएको स्वीकार गर्दै उनले भने, ‘पार्टी र सरकारका संयन्त्रहरूलाई यति ठूलो आन्दोलन र विध्वंसको जानकारी नहुनु नै ठूलो कमजोरी हो।’
अर्को प्रसङ्गमा उपाध्यक्ष पाण्डेले अहिलेको सरकार कमजोर भएको र आगामी निर्वाचन गराउने क्षमता नभएको दाबी गरे। उनले भने, ‘फागुन २१ मा चुनाव गराउन निकै कठिन छ। प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी सरकारसँग छैन।’