आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका गायक बाबुल गिरी ३ लाख धरौटीमा रिहा

  • प्रकाशित मिति : २०८२ मंसिर ५, शुक्रबार
  • नेपाल टेल संवाददाता

आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी तोकेपछि उनी बुधबार हिरासतबाट मुक्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

गायिका नितु पौडेल मृत फेला परेको घटनापछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो। नितु पौडेलले अनामनगरस्थित बाबुल गिरीकै स्टुडियोमा आत्मदाह प्रयास गरेको पुष्टि भएको थियो।



यस घटनाबारे पौडेल परिवारले उनीहरूबीच प्रेम सम्बन्ध रहेको र बाबुल गिरीले विवाह गर्न नमानेपछि नितुले आत्महत्या गरेको दाबी गरेका छन्। घटनाको विस्तृत अनुसन्धान प्रहरीले जारी राखेको छ।