देशभर चिसो तीव्र, जुम्लामा तापक्रम माइनस ५, काठमाडौं ७.८ डिग्रीमा ओर्लियो

  • प्रकाशित मिति : २०८२ मंसिर ७, आईतवार
  • नेपाल टेल संवाददाता

केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो तीव्र गतिमा बढिरहेको छ। विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा तापक्रम एकाएक ओरालो लागेसँगै जनजीवन प्रभावित बनेको छ।

आज (आइतबार) बिहान जुम्लामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस पुगेको छ।



त्यस्तै निरन्तर चिसो बढिरहेको काठमाडौँ उपत्यकामा आजको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ। शुक्रबार ११ डिग्री रहेको उपत्यकाको तापक्रम शनिबार ८.५ डिग्रीमा झरेको थियो भने आज यसभन्दा थप तल झरेको हो।

मौसमविद्हरूका अनुसार देशका अधिकांश ठाउँमा पछिल्ला दिनहरूमा चिसो बढ्नुको मुख्य कारण पश्चिमी वायु प्रणालीको प्रभाव, खुला मौसम र रातको समयमा सतहले ताप छिटो गुमाउनु हो।

महाशाखाले न्यूनतम तापक्रम प्रत्येक दिन बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गर्ने गर्दछ। मौसमविद्हरूले चिसो बढ्दै जाने क्रम अझ केही दिन कायम रहने सम्भावना रहेको बताए।