नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गर्दै आएका आठ जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बल्खु क्षेत्रमा गरिएको निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार ती व्यक्तिहरू अनलाइन बेटिङ साइट प्रयोग गरी खेलको नतिजामा प्रत्यक्ष प्रभाव पार्ने उद्देश्यले हारजितमा लगानी गर्दै आएको खुलेपछि नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामा आन्ध्र प्रदेशस्थित प्रकासम जिल्लाका राजा यदुला (३१), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साई कुमार तम्मिसेट्टी (१९) र सेख चन्द बसल (२८) रहेका छन्।
उनीहरूको साथबाट १५ वटा मोबाइल बरामद गरिएको र ती उपकरणमार्फत थप प्रविधियुक्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।
यसअघि अपराध अनुसन्धान कार्यालयले खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूमाथि पनि अनुसन्धान जारी छ ।