बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार

  • प्रकाशित मिति : २०८२ मंसिर १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

बसिर अहमदको चम्किलो प्रदर्शनसँगै विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध रोमाञ्चक जित हात पारेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगको चौथो जित दर्ता गर्नुका साथै प्लेअफको ढोका थप नजिक पुर्याएको छ।

विराटनगरका लागि बसिर अहमदले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई जितको नजिक पुर्‍याउने बलियो आधार तयार गरे। उनले ४३ बलमा अविजित ६२ रन प्रहार गर्दै इन्निङ सम्हाले। लोकेश बम ६ रनमा आउट भए भने जर्ज मुन्से खाता नै नखोली पेभिलियन फर्किए। साम हिजलेटले १६, शाहिल पटेलले १९, मार्चेन्ट डि लिङले २, नारायण जोशीले २५ तथा प्रतिश जिसीले ६ रन जोडे। कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे।



कर्णालीका कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुई–दुई विकेट लिए भने पवन सरार्फ, नन्दन यादव र विलियम बोसिष्टोले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिको बीच १६० रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। ओपनर प्रियांक पन्चालले उत्कृष्ट प्रदर्शन गर्दै ६३ रन जोड्दै इन्निङको नेतृत्व गरे। मार्क वाट ६ तथा गुल्सन झा २० रनमा आउट भए।

विलियम बोसिष्टो ४८ रनमा अविजित रहे भने नजिबुल्लाहले १२ रनको योगदान दिए। बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र मार्चेन्ट डि लिङले एक–एक विकेट लिए।