प्रतिनिधिसभा निर्वाचनका लागि २५ नयाँ दल दर्ता, आयोगमा दलको संख्या १४३ पुग्यो

  • प्रकाशित मिति : २०८२ मंसिर १५, सोमबार
  • नेपाल टेल संवाददाता

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै २५ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । नयाँ दलहरू थपिएपछि आयोगमा दर्ता दलहरूको संख्या १४३ पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचनका लागि दल दर्ताको प्रक्रिया मंसिर १ देखि १० गतेसम्म खुला गरिएको थियो । मागअनुसार चार दिन थपिएको समय पनि आइतबार सकिएको छ । दल दर्ताका लागि १२० दलले निवेदन दिए पनि छानबिनपछि ११९ दल मात्र दर्ता भएको आयोगले जनाएको छ । दर्ता दलहरूको अन्तिम सूची मंसिर २० गते प्रकाशित हुनेछ ।



आयोगका अनुसार १४ दलले संयुक्त रूपमा एकल चुनाव चिह्न माग गर्दै ६ वटा निवेदन दिएका छन् भने १०५ दलले एक्लै चुनाव लड्ने गरी निवेदन दिएका छन् । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका १४ वटै दलले पनि दर्ताका लागि निवेदन दिएका छन् । यद्यपि पुराना २४ दलले आगामी निर्वाचन प्रयोजनका लागि निवेदन नदिएको आयोगको भनाइ छ ।

यसपटक दर्ता भएका नयाँ दलहरूमा विभिन्न चर्चित व्यक्तिहरूको सक्रियता देखिन्छ । धरानका मेयर हर्कराज राई सामापाङले ‘श्रम संस्कृति’ पार्टी दर्ता गरेका छन्। व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गराएका छन् । रेशम चौधरीको नेतृत्वमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ दर्ता भएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता भएको छ, जसका अध्यक्ष अरुणकुमार उपाध्याय हुन् । राजेश पोर्तेको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’, रियाज अहमद शेषको ‘राष्ट्रिय जनमत पार्टी’, र अधिवक्ता रमणकुमार कर्णको संयोजकत्वमा ‘जनादेश पार्टी, नेपाल’ दर्ता भएका छन् ।

दलित अभियन्ता खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल’ दर्ता प्रक्रियामा रहेको छ । पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा ‘समुन्नत नेपाल पार्टी’, गणेशकुमार मण्डलको ‘सार्वभौम नागरिक पार्टी’ तथा योगेन्द्र मण्डलको ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ पनि दर्ता भएका छन् ।

श्रेया केसीको ‘नागरिक सेवा पार्टी’, नुमा लिम्बूको ‘समावेशी समाजवादी पार्टी’ तथा विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा ‘नागरिक बचाउ दल’ दर्ता भएका छन् ।

दीपककुमार साहको ‘सर्वोदय पार्टी’ र प्रकाश खड्काको ‘नेपाल जनसेवा पार्टी’ समेत आयोगमा दर्ता भएका छन् । आगामी निर्वाचनमा बढ्दो राजनीतिक सक्रियतासँगै नयाँ दलहरूको उपस्थितिले चुनावी प्रतिस्पर्धा थप चाखलाग्दो बन्ने सम्भावना देखिएको छ ।