सुनको भाउ ८ सयले उक्लियो, चाँदी चार दिनदेखि निरन्तर नयाँ रेकर्डमा

  • प्रकाशित मिति : २०८२ मंसिर १७, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली सुनचाँदी बजार बुधबार फेरि तातिएको छ। सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको भाउ २ लाख ५३ हजार ३ सय रुपैयाँ थियो।

सुनको मूल्य यसअघि असोज ३१ गते हालसम्मकै उच्च बिन्दु २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो। डेढ महिनाअघि बनेको सो रेकर्ड पछिल्ला दिनमा नटुटे पनि मूल्य फेरि उकालो लाग्दै गएको महासंघले जनाएको छ।



यता, चाँदीको मूल्य भने सुनभन्दा झनै चाँडो र लगातार वृद्धि भइरहेको छ। गत आइतबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको चाँदी बुधबार एकैदिन तोलामा ११० रुपैयाँले महँगिएको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

पछिल्लो चार दिनयता लगातार नयाँ उचाइ छुन सफल बनेको चाँदीको मूल्यले बजारमा चहलपहल बढाएको छ। सुन र चाँदी दुवैको मूल्यमा आएको तीव्र वृद्धिले आभूषण व्यवसायीदेखि सर्वसाधारण उपभोक्तासम्मको ध्यान फेरि बहुमूल्य धातु बजारतर्फ आकर्षित गरेको छ।