लण्डन । नेपालका पाठेघर (सर्वाइकल) क्यान्सर पीडित महिलाको सहयोगार्थ नेप्लिज डक्टर्स एसोसिएसन यूकेले लण्डनमा च्यारिटी दौड आयोजना गर्ने भएको छ। आगामी डिसेम्बर १४ (आइतबार) लण्डनको रिजेन्ट्स पार्कमा हुने ५ के र १० के दौडमा ओलम्पियन पौडी खेलाडी गौरिका सिंह समेत सहभागी हुने भएकी छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अनेकौं पुरस्कार जितिसकेकी गौरिकाले नेपालमा पाठेघर क्यान्सर उन्मूलन अभियान चलाइरहेको क्यान्सर केयर नेपालको सहयोगार्थ दौडने बताउँदै सबैसँग आर्थिक सहयोगको अपिल गरेकी छन्। उनका अनुसार च्यारिटी रनबाट संकलित रकमले क्यान्सरको स्क्रिनिङ, प्रारम्भिक पहिचान तथा आवश्यक उपचार–हेरचाहमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
यसअघि क्यान्सर केयर नेपालकी मानार्थ अध्यक्ष तथा अभिनेत्री मनीषा कोइरालाले पनि उक्त च्यारिटी पहलप्रति आभार व्यक्त गर्दै सहयोगका लागि सबैलाई आग्रह गरेकी थिइन्।
एसोसिएसनकी अध्यक्ष डा. आरती थापाले नेपालमा पाठेघर क्यान्सरको अवस्था चिन्ताजनक रहेको बताउँदै च्यारिटी दौडमा साथ दिन समुदायसँग अनुरोध गरेकी छन्। उनका अनुसार जस्ट गिभिङमार्फत पनि रकम सहयोग गर्न सकिनेछ।
दौडमा दिवाकर हमाल, प्रभाकर हमाल, ऐस्ता सुब्बा, अल्का सुब्बा, सोफी नेपाली, निकोलस राडेगोन्डे, सविन जोशी, सेलिना जोशी, गौरिका सिंह, सशक्त थापा, शम्भु शाह, लण्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी अनुप शाह, निलय साह र म्याथ्यू सिंह लगायतका धावकहरूको सहभागिता रहनेछ।