लन्डन । पाँचथर समाज सेवा यूकेले क्यान्सरपीडित पत्रकार कबिन्द्र सेर्मालाई २ लाख ४८ हजार हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। बीएफबीएस गोर्खा रेडियोमा मंगलबार आयोजित कार्यक्रममार्फत अध्यक्ष नगेन्द्रराज नेम्बाङले रकम बुझाउनुभयो।
कार्यक्रम रेडियो र फेसबुक दुवैमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
सहयोग संकलन अभियानमा साहित्यकार तथा गीतकार लिलाराज काम्बाङले नेतृत्व गर्नुभएको थियो। साथै समाजसेवी सकुन्तला नेम्बाङ, पूर्वअध्यक्ष शान्ति लिम्बु, रुमा साँवा र यूकेमा रहेका अन्य संघ–संस्था, कलाकार र समुदायका सदस्यहरूले सक्रिय सहयोग गरे।
कार्यक्रममा सबै सहयोगदाताको नाम सार्वजनिक गरिएको थियो। पत्रकार सेर्मा र अध्यक्ष नेम्बाङले सबैप्रति आभार व्यक्त गर्नुभयो।
सेर्माले आफ्नो स्वास्थ्य सुधार भइरहेको जानकारी दिँदै आगामी एक वर्ष भारतको नयाँदिल्लीस्थित राजीव गान्धी अस्पतालमा नियमित उपचारका लागि जानुपर्ने भएकाले थप सहयोगको आवश्यकता रहेको रेडियोमार्फत बताए।