काठमाडौंको तापक्रम यस वर्षकै न्यूनतम, चिसो बढेसँगै तराईमा हुस्सु–कुहिरो

  • प्रकाशित मिति : २०८२ पुष ८, मंगलवार
  • नेपाल टेल संवाददाता

पछिल्ला दिनमा देशभर चिसो बढ्दो क्रममा रहेको छ। तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि विद्यालय बन्द गर्न थालिएको छ भने हिमाली क्षेत्रमा हिमपात जारी छ। यही क्रमसँगै काठमाडौं उपत्यकामा पनि यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियसमा झरेको छ। मौसमविद् हरिप्रसाद दाहालका अनुसार सोमबार ६.८ डिग्री रहेको न्यूनतम तापक्रम एकैदिन झन्डै दुई डिग्रीले घटेको हो। यो तापक्रम काठमाडौंका लागि यस वर्षकै सबैभन्दा कम हो। यसअघि गत २८ मंसिरमा न्यूनतम तापक्रम ५ डिग्री मापन गरिएको थियो।



मौसमविद् दाहालका अनुसार आज तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने हिमाली क्षेत्रमा मौसम प्रायः सफा छ। हाल पानी पर्ने प्रणाली सक्रिय नभएकाले ठूलो वर्षा वा हिमपातको सम्भावना न्यून रहेको उनले बताए।

‘तराईमा यो समय हुस्सु र कुहिरो लाग्ने नै मौसम हो। पश्चिमी वायु सक्रिय हुन नसकेकाले राम्ररी पानी नपर्दा कुहिरो बढ्दै गएको हो,’ उनले भने।

देशभर आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।