ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक राजनीतिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने धारणा पुनः दोहोर्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको एकतामा सहभागी हुन नसकेका घिसिङले पोखरामा आयोजित उज्यालो नेपालको जिल्ला भेलालाई सम्बोधन गर्दै वैकल्पिक शक्तिको एकतामा जोड दिएका हुन्।
घिसिङले सकेसम्म सबै वैकल्पिक तथा नयाँ राजनीतिक शक्तिहरू एक भएर जानुपर्ने र त्यो सम्भव नभए कार्यगत एकता गर्दै अघि बढ्ने अवस्थामा आफ्नो पार्टी रहेको बताए। उनले नयाँ र मेनस्ट्रिम फोर्सहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उज्यालो नेपाल पार्टी आत्मसम्मान र स्वाभिमान कायम राखेर सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।
उनले भने, “आजको दिन नेपाली जनताले वैकल्पिक शक्तिहरू एक भएर अगाडि बढून् र नयाँ नेतृत्व दिऊन् भन्ने चाहना राखेका छन्। त्यसलाई बुझेर हामी सबैले एकताको दिशामा अघि बढ्नुपर्छ। उज्यालो नेपाल पार्टी सम्मानजनक उपस्थिति, आत्मसम्मान र स्वाभिमान कायम राख्दै सबैसँग सहकार्य गर्न तयार छ।”
घिसिङले वैकल्पिक शक्तिहरूबीच सहकार्यका लागि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै आगामी दिनमा त्यसको सकारात्मक नतिजा देखिने विश्वाससमेत व्यक्त गरे।