अहिलेसम्म कुनै पनि पार्टीको सदस्य छैन: कुलमान घिसिङ

  • प्रकाशित मिति : २०८२ पुष २३, बुधबार
  • नेपाल टेल संवाददाता

ऊर्जा मन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्य नभएको स्पष्ट पारेका छन्। मंगलबार ललितपुरमा इन्जिनियरहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिसिङले आफ्नो राजनीतिक हैसियतबारे प्रस्टोक्ति दिएका हुन्।

उनले भने, ‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’ उज्यालो नेपाल पार्टी गठनमा आफ्नो अगुवाइ रहेको र उक्त पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेको विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।



पुस २४ गते उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता गर्ने निर्णय गरेको थियो। एकताको सहमतिमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। सहमतिमा हस्ताक्षर हुँदा मन्त्री घिसिङ पनि उपस्थित थिए। यसै विषयलाई लिएर राजनीतिक दल तथा नागरिक समाजका केही समूहले घिसिङले मन्त्री पदबाट राजीनामा दिनुपर्ने माग उठाउँदै आएका छन्।

कार्यक्रममा बोल्दै मन्त्री घिसिङले ऊर्जा मन्त्रालयको नेतृत्व सम्हालेपछि आफूले गरेका कामकारबाहीबारे पनि चर्चा गरे। उनले विकास निर्माण र समृद्धिका लागि राजनीतिक स्थायित्व अनिवार्य हुने बताए। “विकास निर्माणका लागि राजनीतिक स्थायित्व चाहिन्छ, त्यसका लागि सक्षम राजनीतिक नेतृत्व आवश्यक छ,’ उनले भने।