समानुपातिकतर्फ ६४ दलबाट ११० सिटका लागि ३४२४ उम्मेदवार मैदानमा

  • प्रकाशित मिति : २०८२ पुष १५, मंगलवार
  • नेपाल टेल संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता रहेका राजनीतिक दलमध्ये सोमबार र मंगलबार गरी जम्मा ६४ दलले मात्रै समानुपातिक उम्मेदवारको सूची पेश गरेका हुन् । तोकिएको समयभित्र समानुपातिकतर्फ ११० सिटका लागि ६४ दलबाट कुल ३ हजार ४२४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।



यसपटक केही दलले संयुक्त रूपमा एउटै चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्ने भएका छन् । आयोगका अनुसार ६४ दल ५८ वटा चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुँदैछन् । तीमध्ये ५४ दल आ–आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेछन् भने १० वटा दल चारवटा साझा चुनाव चिह्नमा निर्वाचन लड्नेछन् ।

समानुपातिक बन्दसूची बुझाउने दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी, कांग्रेस बीपी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी, जनअधिकार पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाललगायत रहेका छन् ।

निर्वाचन आयोगले अब बन्दसूचीको कानुनी परीक्षण, दाबी–विरोध र अन्तिम सूची सार्वजनिक गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ ।