शान्ति कायम राख्न आग्रह गर्दै प्रधानमन्त्रीले दिइन् दुर्गा प्रसाईँलाई बुद्धको फोटो उपहार

  • प्रकाशित मिति : २०८२ पुष १५, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन् ।

आज बिहान बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले प्रसाईँलाई सो उपहार दिएकी हुन् ।



साथै, प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् । उनले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् ।

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन् ।

यसअघि मंसिर २२ गते सिंहदरबारमा भएको भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । सोही भेटको सन्दर्भ जोड्दै प्रधानमन्त्री कार्कीले प्रसाईंलाई बुद्धको चित्र उपहार दिएकी हुन् ।