काठमाडौंको तापक्रम वर्षकै न्यून बिन्दुमा, चिसो अझै बढ्ने संकेत

  • प्रकाशित मिति : २०८२ पुष १७, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं उपत्यकाको तापक्रम आज (पुस १७) वर्षकै सबैभन्दा कम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित देशभर क्रमिक रूपमा तापक्रम घट्दो क्रममा रहेको छ र आगामी दिनमा चिसो अझै बढ्ने सम्भावना देखिएको छ।

बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ। यो तापक्रम यस वर्ष काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा कम हो। यसअघि बुधबार (पुस १६) न्यूनतम तापक्रम ४.९ डिग्री र मंगलबार (पुस १५) ४.८ डिग्री सेल्सियस मापन गरिएको थियो।



यस्तै, बिहीबार बिहान सार्वजनिक गरिएको देशका १७ स्थानको तापक्रम विवरणअनुसार जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ। जुम्लाको तापक्रम –४.१ डिग्री सेल्सियस रहेको छ। यसअघि बुधबार जुम्लामा –४.४ र मंगलबार –४.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले तापक्रम अझै घट्न सक्ने भन्दै विशेषगरी बिहान र रातिको समयमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।