सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले प्रदर्शन गरेका छन्। घटनापछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने लौकही बजार क्षेत्र तनावग्रस्त बनेको छ।
तस्करी नियन्त्रणका लागि अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले गएराति गोली चलाउँदा स्थानीय बासिन्दा ४५ वर्षीय विजय साहको घटनास्थलमै मृत्यु भएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाका अनुसार सीमावर्ती क्षेत्रबाट सिटी सफारी तथा अटो रिक्सा प्रयोग गरी चोरी/तस्करीको सामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भीडन्त भएको दाबी गरिएको छ।
तर स्थानीयवासीले भने प्रहरीले रोकेर सोधपुछ गर्ने क्रममा गोली चलाएको आरोप लगाएका छन्। सशस्त्र प्रहरीले साहको हत्या गरेको भन्दै आक्रोशित बनेका स्थानीयवासीले मृतकको शव सडकमा राखेर प्रदर्शन गरेका छन्, जसका कारण लौकही बजार क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।
प्रदर्शनका क्रममा स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि भीड तितरबितर पार्न प्रहरीले हवाई फायर गरेको जनाइएको छ। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।